ताजा समाचार

बुवाको काजकिरिया गर्दै ५ छोरी, भन्छन्– बुवाको त्यागको सम्मान गर्दै किरिया गरेका हौं

सुन्दरहरैंचा (केशव भट्टराई) । मोरङको सुन्दरहरैंचाका शाही परिवारका पाँच दिदीबहिनीले छोरा नै किरियापुत्री बस्नुपर्छ भन्ने मान्यतालाई तोडिदिएका छन् । तिहारको बेला, सबैतिर झिलीमिली बत्ती अनि देउसीभैलोको रौनक छ । तर यी पाँच दिदीबहिनीको घरमा बुवाको निधनका कारण अध्याँरो छाएको छ । मनमा पीडा छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ५ का ५३ वर्षीय कृष्णकुमार शाहीको कार्तिक ६ गते निधन भयाे । अहिले पाँच छोरीहरूले विधि विधानअनुसार १३ दिनसम्मको काजकिरिया गर्दैछन् । उनीहरूले कपाल खौरनेबाहेक जनै लगाएर आफ्नो धर्म परम्पराअनुसार किरिया गरेका हुन् ।

कृष्णबहादुरको निधनपछि आमा टीका शाहीसँगै पाँच छोरीले धार्मिक विधिअनुसार किरिया गरिरहेका हुन् । सवै छोरीले दाहसंसस्कार गरिने ठाउँ इटहरीको मुक्तिघाट पुगेर बुवालाई दागबत्ती दिए । किरियामा बस्नु भएको छोरी जेनिसाले भन्नुभयो, ‘बुवा मिहिनेती अनि फराकिलो सोच भएको सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो । तीमीहरुले छोराको भूमिका निर्वाह गर्नुपर्छ भन्नुहुन्थ्यो, बुवाको सुखदुःखमा पनि हामीले साथ दिएका थियौं ।’

विगतमा अरू ठाउँका छोरीले किरिया बसेको देखेको बताउँदै जेनिसाले भन्नुभयो,‘ गलत मान्यतालाइ तोड्दै, छोरा र छोरी समान हुन् भन्ने सन्देश दिन हामी आफैँ किरिया गर्न बसेका हौँ । छोरीले बाबुको मलामी जानु हुँदैन र किरिया गर्नुहुँदैन भन्ने गलत मान्यता हो, बुबाले हामीप्रति गरेको त्यागको सम्मान गर्दै किरिया बस्ने निर्णय गरेका हौँ ।’

छोरीहरुसँगै टीका शाही पनि श्रीमानको किरियामा बस्नु भएको छ । छोराले गर्ने कर्तव्य पूरा गर्छन् भन्ने आफ्नो श्रीमान कृष्णको विश्वास रहेको, छोरीहरुले पनि बुवाको किरियाकर्म हामी गर्छौ भन्ने इच्छा देखाएको टीकाले सञ्चारमाध्यमलाई जानकारी दिनु भयो ।

यस्तै छोरा नभएको एउटा कारण र छोरीले गरेको काम उदाहरणीय हुने भएकाले परिवारका सबै सदस्यहरु छोरीहरुलाई किरिया गर्न दिने निर्णयमा पुगेको देवबहादुर शाहीको भनाइ छ । पाँच छोरीहरुले किरिया बस्न इच्छा गर्दा आफन्त र छिमेकीले सहजीकरण गरेका थिए । पत्नी टीका र पाँच छोरी जस्मिन, जेनिसा, कसिस, प्रेरणा र कृष्टिनाले काजकारिया गरेका हुन् । काजकारियामा बसेका चेलीहरुमा २ जनाले फेस डिजाइनिङ कोर्ष गर्दैछन् भने दुई जनाले नर्सिंङ पढेका छन् । स्व. कृष्णकुमार विभिन्न सामाजिक संघसंसस्थामा आबद्ध हुनुहुन्थ्यो । उहाँको सक्रिय समाजसेवाको मुल्यांकन गर्दै दर्जनौं सामाजिक संघसघहरुले  श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

कृष्णबहादुरको दुबै मृर्गौला र लिबरमा समस्याका थियाे । उहाँकाे उपचारका क्रममा मृत्यु भएको हाे।  बुवाको किरिया बस्दा सबैको सहयोग पाएको छोरीहरुको भनाइ छ । हाम्रो समाजमा अझै पनि छोरीहरू किरिया बस्ने चलनलाई अस्वाभाविक मानिँदै आएको छ । तर पितृसतात्मक सोच भएको हाम्रो समाजमा छोराले नै किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्नु पाँचजना यी चेलीहरुको महान कार्य हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org