ताजा समाचार

लामाले आइतबार बागमतीकाे मूख्यमन्त्री पदबाट राजीनामा दिने

काठमाडाैं। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले राखेको सर्त पूरा हुने भएपछि आइतबार पदबाट राजीनामा दिने भएका छन् । सभापति शेरबहादुर देउवासँग शनिबार बुढानीलकण्ठमा भएको छलफलपछि लामा सशर्त राजीनामा दिन तयार भएका हुन् ।

देउवाको उपस्थितिमा भएको छलफलमा लामाले साउन १४ गते मन्त्री नियुक्त गरेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई निरन्तरता दिने सर्तमा पदत्याग गर्न सहमति भएको लामा निकट प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले जानकारी दिए ।

‘हामीले तीन जना मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुपर्ने अडान राख्यौँ । सभापतिज्यू र इन्द्रजीले सहमति जनाउनुभयो,’ चित्रकारले भने, ‘त्यसपछि मुख्यमन्त्रीले आइतबार राजीनामा दिने निर्णय भएको हो ।’

आइतबार हेटौँडामा मन्त्रिपरिषद्को बैठक बसेर पत्रकार सम्मेलन गरेपछि राजीनामा दिने उनले स्पष्ट पारे । मुख्यमन्त्री लामा साउन १४ गते पार्टी संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएका थिए । दलको नेतामा हार बेहोरेपछि उनलाई पार्टीभित्रबाट राजीनामा दिन दबाब बढेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org