ताजा समाचार

एनपीएल दोस्रो संस्करणकाे अक्सन आज हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदैछ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दिउँसो तीन बजेदेखि अक्सन सुरू हुनेछ । अक्सनका लागि १ सय ५० जना खेलाडीको अन्तिम सूची सार्वजनिक भइसकेको छ । यसअघि ४ सय ५८ जना खेलाडीले नाम दर्ता गरेकोमा ती खेलाडीबाट अन्तिम सूची घोषणा गरिएको थियो ।

क्यानले १ सय ५० खेलाडीलाई विभिन्न श्रेणीमा विभाजन गरेको छ । श्रेणी ‘ए’ मा ८ जना, श्रेणी ‘बी’ मा ३५ तथा श्रेणी ‘सी’ मा १०७ खेलाडी रहेका छन् ।

क्यानसँगको सम्झौताअनुसार रिटेन भएका खेलाडीको मुल्य १० प्रतिशतले वृद्धि हुनेछ भने रिलिज भएका र नयाँ खेलाडीको हकमा भने न्यूनतम मूल्य ग्रेड ‘ए’ मा रहेका खेलाडीको १० लाख ‘बी’ मा रहेका खेलाडीको ५ लाख र ‘सी’ मा रहेका खेलाडीको २ लाख कायम गरिएको छ । एनपीएलमा हरेक फ्रेन्चाइजीले खेलाडी किन्न अक्सनमा बढीमा ९० लाखसम्म खर्च गर्न पाउने सीमा तोकिएको छ ।

एनपीएलमा आठ फ्रेन्चाइज टोली छन्। एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने सूदुरपश्चिम राेयल्स दाेश्राे भएकाे थियाे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org