ताजा समाचार

‘विमान भए वजारको खाँचो छैन’

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका कमर्सियल विभाग प्रमुखका रुपमा जिम्मेवारी सम्हालिरहनुभएका जनक कालाखेती उड्डयन क्षेत्रमा चम्किलो नाम हो । सन् २००८ मा चार्टड काउन्टेन्ट पदबाट निगममा सेवा प्रवेश गर्नुभएका कालाखेती संस्थानको आर्थिक तथा प्रशासनिक सुधार मात्र होइन, यसका उडानलाई चुस्त, नियमित र यात्रुमैत्री बनाउन पनि उत्तिकै मिहिनेत, इमानदार र लगनशील भएर सक्रिय हुनुहुन्छ । उहाँले निगमको कमर्सियल विभाग सम्हालेपछि नै काठमाडौं–दिल्ली उडान सातामा १० वटा भएको हो । टिकट बिक्रीमा आएको सुधारमा पनि कालाखेतीको योगदान छ । खाजा समयमा पनि काउन्टर खुला गर्ने, टिकट रद्द गर्ने, उडान सार्नेजस्ता सुधारका काम ट्राभल्स एजेन्सीबाटै गर्ने व्यवस्थासमेत उहाँकै परिकल्पना हुन् ।

बैंगलोर र मुम्बई उडान नियमित गर्ने, दोहा, कतार, चीनको ग्वान्जाउ उडान छिट्टै सुरु गर्ने मात्र होइन, निगमको व्यापार प्रवद्र्धन गर्न नयाँ दुइटा एयरबस किनेर सांघाई, सिउल, ओशाका, टोकियो, सिंगापुर, बैंकक उडान थप गर्ने सपना छ कालाखेतीको ।  निगमको वर्तमान अवस्था, विमान खरिद, बजार योजना, चिनियाँ विमानका समस्यालगायत विषयमा न्युज-नेपालका संवाददाताले उहाँसँग गरेको कुराकानीको सार : 

नेपाल वायुसेवा निगमअन्तर्गत तपाईंले नेतृत्व गरिरहनुभएको कमर्सियल विभागका खास जिम्मेवारी के के हुन् ?

– कमर्सियल विभागको काम निगमका जहाजका लागि यात्रु बजार खोज्ने, यात्रु भर्ने, टिकट बिक्री गर्ने र यात्रुलाई आफ्नो गन्तव्यसम्म सकुशल, आरामदायी किसिमले निर्धारित समयमै पु¥याउनु नै प्रमुख रुपमा रहेका छन् ।

निगमका अन्तर्राष्ट्रिय उडानको बजारस्थिति कस्तो पाउनुभएको छ ?

DSC00876

– निगमले भारतका प्रमुख तीन गन्तव्य दिल्ली, बैङ्लोर र मुम्बईमा नियमित उडान गरिरहेको छ । भारतका यी तीनवटै गन्तव्यमा अहिले यात्रुको चाप उच्च छ । कतारको दोहा, थाइल्यान्डको बैंकक, हङकङ, मलेसियाको क्वालालम्पुरमा पनि हामीले नियमित अन्तर्राष्ट्रिय उडान गरिरहेका छौं । निकट भविष्यमै चीनको ग्वाङजाउ र युएईको दुवईमा उडान गर्ने योजना बनाएका छौं ।

थप दुई अन्तर्राष्ट्रिय उडान गन्तव्यका लागि भइरहेकै जहाजबाट उडान गर्दै हुनुहुन्छ कि नयाँ जहाज ल्याउने पनि योजना छ ?

– अहिले भइरहेकै जहाजबाट सेडुअल मिलाएर उडान गर्दैछौं । नयाँ आएका दुई एयरबसबाट यी उडान हुँदैछन् । यी दुई गन्तव्यमा उडान थप्दा पनि भएकै जहाजबाट सहज रुपमा उडान गर्न सकिन्छ ।

चिनियाँ जहाज नियमित उडान नहुँदा यात्रुले विश्वास गरेको पाइँदैन, यसलाई कसरी नियमित र व्यवस्थित गर्दै हुनुहुन्छ ?

– चिनियाँ जहाज बजारमा हल्ला भएजस्तो कमजोर प्राविधिक पक्ष भएको जहाज होइन । यी जहाज प्राविधिक रुपले सुरक्षित छन् । खाली पाटपुर्जा समयमा पाउन नसक्ने, मर्मतसम्भार गर्न नसकेर समयमा उडान भर्न नसकेका हौं ।

चिनियाँ विमानको बिमा रकम महँगो छ नि ? विमानका यन्त्र–उपकरण नआउने, भाषाको समस्या सुल्झाउन निगम व्यवस्थापनले के पहल गरिरहेको छ ?

– हामीले विभिन्न चरणमा छलफल गरेर बिमा शुल्क घटाउन सफलता पाएका छौं । यन्त्र–उपकरण पनि जहाज निर्माण कम्पनीले सहज बनाउँदैछ । भाषाको समस्या अहिले छैन ।

चिनियाँ विमानबाट निगमको खर्च बढ्यो, प्रभावकारी भएन भन्ने सुनिन्छ । यो स्थितिमा बाँकी जहाज अब नल्याउने सोच बनाइएको हो ?

– यो त निगम व्यवस्थापन भन्दा पनि नेपाल सरकार र चिनियाँ सरकारबीचको सम्झौता हो । यसमा सरकारकै निर्णय अन्तिम हुन्छ ।

निगमसँग हाल कतिवटा विमान छन् ?

– अन्तर्राष्ट्रिय उडानततर्फ दुइटा ७५७ एयरबस छ । आन्तरिकतर्फ दुइटा टुइनअटर विमान, एउटा एमआई छ र एउटा वाइड विमान छ । यसरी निगमसँग ७ वटा मात्र विमान छन् ।

उडान गन्तव्य नि ?

– सरकारको निर्णयबमोजिम उडान गर्नुपर्ने सबै आन्तरिक विमानस्थलमा निगमले उडान गरिरहेको छ । तराईका भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, नारायणगढ, भैरहवा, नेपालगन्ज, धनगढी, पहाड र हिमालका फाप्लु, भोजपुर, सुकेटार, लामिडाँडा, तुम्लिङटार, पोखरा, मुस्ताङ, जुम्ला, साँफेबगर, मुगु, हुम्ला, सिमिकोट, बझाङ, मार्तडीलगायत सबै स्थानमा नियमित हप्तामा १, २, ३ वटा उडान भइरहेका छन् । जहाज सीमित भएकाले राम्रो बजार भएको ठाउँमा पनि हामीले हप्ताको एउटा÷दुइटा भन्दा बढी उडान गर्न सकिरहेका छैनौं । धेरै भाडा आउने लुक्ला, फाप्लु, जोमसोम जहाजको उडान सीमित भएकाले उपस्थिति मात्र जनाउँदै आएका छौ ।

अन्तर्राष्ट्रिय उडानका लागि एयरबस खरिद गर्ने कुरा कहाँ पुग्यो ?

– अन्तर्राष्ट्रिय उडानका लागि दुइटा वाइड बडीका जहाज खरिद गर्न निगम सञ्चालक समितिले निर्णय गरी त्यसका लागि उपसमिति बनाएकोमा उसमितिले पनि विमान खरिदको सम्पूर्ण प्रक्रियाको प्रतिवेदन मन्त्रालयमा पेस गरिसकेको छ । आर्थिक व्यवस्थापनका लागि अर्थमन्त्रालयमा फाइल पुगिसकेको छ । अर्थमन्त्रालयको निर्णयको प्रतीक्षामा छौं । त्यहाँबाट निर्णय भएपछि दुइटा न्यारो बडीको विमान खरिद प्रक्रिया अगाडि बढाउँछौं ।

जहाज खरिद गर्न वित्तीय व्यवस्थापन कहाँबाट जुटाउँदै हुनुहुन्छ ?

– बजार व्यवस्थापन भनेको गर्दै गएर सिकिने कुरा हो । हवाई बजार राम्रो छ । करिब एक सय अर्बको अन्तर्राष्ट्रिय बजार छ । बजार भएर नै २६ वटा अन्तर्राष्ट्रिय विमान कम्पनीले नेपालमा जहाज उडाइरहेका छन् । हामीसँग पर्याप्त विमान नभएकै कारण बजार व्यवस्थापन गर्न नसकिएको हो । पर्याप्त बिमान हुनासाथ एक–दुई वर्षमा राम्रो मार्केट बनाउन सकिन्छ ।

दुई विमान खरिदका लागि कति बजेट आवश्यक पर्छ ?

– अहिले यत्ति नै रकम लाग्छ भनेर भन्न सकिने स्थिति छैन । डलरको मूल्य तलमाथि हुन सक्छ । दुइटा वाइड बडीको एयरबस खरिद गर्न २५ देखि २६ अर्बसम्म रकम लाग्न सक्छ । यो बजेट कर्मचारी सञ्चयकोष, नागरिक लगानीकोष, अन्य बैंक जस्ता संस्थाबाट सहुलियत दरमा ऋण जुटाउन सकिन्छ । सरकार ग्यारेन्टी बसिदियो भने जहाज खरिदका लागि वित्तीय व्यवस्थापन गर्न गाह्रो हुँदैन । विदेशी वित्तीय संस्थाहरुबाट पनि ऋण जुटाउन सकिन्छ ।

निगमको विमान खरिद योजना के के छन् ?

– अन्तर्राष्ट्रिय उडानका लागि तीन वर्षभित्र ४ वटा एयरबस ल्याउने योजना छ । आन्तरिक बजारका लागि पनि ४ वटा साना ५०–६० सिटका र २ वटा न्योरो बडीका पहाडी र हिमाली क्षेत्रमा उडान गर्ने जहाज ल्याउने योजना छ ।

निगमले जर्मनीको लुक्थान्सासँग बजार व्यवस्थापन साझेदारी गर्ने कुरा विगतमा उठेको थियो, अहिले के भइरहेको छ ?

– यसमा वर्कआउट भइरहेको छ तर यसमा सरकारले कुनै निर्णय गरिसकेको छैन । निगमले आन्तरिक तयारी भने गरिरहेको छ ।

लुक्थान्साले व्यवस्थापन जिम्मा लिने हो कि कन्सल्टेन्सी सेवा दिने हो ?

– हाम्रो मार्केटिङ फाइनान्सियल, यन्त्र उपकारण, इन्जिनियरिङ सेवामा कन्सल्टेन्सी सेवा दिने हो । व्यवस्थापन जिम्मेवारी दिने होइन । परामर्श सेवा दिने हो ।

नयाँ एयरबस खरिद गर्न निगमलाई सरकारले कत्तिको सहयोग गरेको छ ?

– निगम पूर्ण सरकारी स्वामित्वको संस्थान भएकाले निगमको हितमा काम गर्नु सरकारको दायित्व र जिम्मेवारी हो । नेपाल सरकारको स्वामित्व भएका विद्यमान ऐन, कानुन पालन गरेर अगाडि बढ्न कहिलेकाहीँ हामीलाई असहज भइरहेको छ । सरकारी स्वामित्वका व्यापारिक सेवामूलक संस्थाहरुका लागि यसको सेवा र व्यापारको प्रकृति, छिट्टै निर्णय गर्नुपर्ने जिम्मेवारी र करोडौंं करोडका सामान खरिद गर्नुपर्ने संवेदनशील जिम्मेवारी भएकाले यस्ता संस्थानहरुका लागि छुट्टै खरिद ऐन, नियमावली र निर्देशिकाको खाँचो छ । सरकारले गर्ने अन्य सहयोग गरिरहेकै छ ।

नेपाल वायुसेवा निगमका जहाज नियमित समयमा उडान हुन नसक्नुका मुख्य कारण केलाई मान्नुहुन्छ ?

¬– पुरानो भइसकेपछि जहाज मर्मत खर्च बढी आउँछ, मर्मत बढी गर्नुपर्छ । इन्धन खर्च बढी हुन्छ । पुरानो जहाज भएकाले अन्तर्राष्ट्रिय उडानमा ढिला हुने, नियमित उडान नहुने समस्या भइराखेको छ । एउटा जहाज बिग्रिएर मर्मतसम्भार गर्नुपर्दा अर्को जहाज हुँदैन । पालोफेरो गरेर उडान भर्न सकिएको छैन । यसमा नियमित गर्न जहाज खरिद गर्ने, इक्विपमेन्ट थप्ने भन्दा अर्को उपाय म देख्दिनँ । दिल्लीमा हामीले हप्ताको २ वटा उडान गर्दा यात्रु न्यून थिए । अहिले हप्ताको १० वटा उडान गरिरहेका छौं ।

तपाईं कमर्सियल डिपार्टमेन्टमा आइसकेपछि के कस्ता सुधारका काम थाल्नुभएको छ ? आगामी एक वर्षभित्र के कस्ता काम गर्दै हुनुहुन्छ ?

लन्च समयमा टिकट काउन्टर बन्द हुन्थ्यो, त्यो समयमा पनि टिकट बिक्री हुने व्यवस्था मिलाएको छु । कुनै यात्रुले टिकट क्यान्सिल गर्नुप¥यो, अगाडि वा पछाडि मिति वा उडान सार्नुप¥यो अब ट्राभल एजेन्सीबाटै गर्न सकिन्छ । हामीकहाँ आइरहनुपर्दैन । म यहाँ आउनुअघि दिल्लीको ७ वटा उडान रहेकोमा म आएपछि १० वटा बनाइसकेको छु । बेलुकाको उडान पनि राखेका छौं । विरामी, दिउँसो वा बिहान काठमाडौं वा दिल्ली गएर बेलुका फर्किनेहरुलाई यस उडानले फाइदा पुगेको छ । साउदी अरबमा उडान गर्न ७५७ को प्राविधिक कुरा टुंगो लागिसेपछि चाँडो उडान गर्छाैंं । श्रीलंकामा बुद्ध धर्म मान्ने धेरै भएकाले बुद्ध धर्म र लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न कोलम्बो उडान गर्न काठमाडौं–बैङलोर–कोलम्बो, कोलम्बो–बैङलोर–काठमाडौं उडान गर्ने योजना बनाई आगामी जुलाईदेखि उडान गर्र्छौं ।

निगमले ट्राभल्स एजेन्सीलाई टिकट बिक्रीमा न्यून कमिसन दिन्छ, त्यसैले निजीको प्रवद्र्धन गर्छन् भनिन्छ नि ?

– निगमले टिकट बिक्रीमा ७ प्रतिशत कमिसन दिँदै आएको छ । यो राम्रै कमिसन रकम हो । ट्राभल्स एजेन्सीले १५–१५ दिनमा टिकट बिक्रीको रकम बुझाउँछन् । यो कमिसन रकम बढाउने बारेमा निगमले केही सोचेको छैन । सरकारले कमिसन बढाउनुपर्ने महसुस ग¥यो भने हामी स्विकार्न तयार छौं ।

विमान खरिदमा ठूलो कमिसनको खेल हुन्छ भन्छन्, अब एयरबस खरिदमा पनि चलखेल होला नि ?

– विमान खरिदमा कुरा एउटा हुन्छ । बजार हल्ला अर्कै हुन्छ । वास्तविक कुरा नबुझेका, जिम्मेवारी लिनु नपर्ने मान्छेहरुले जे भन्दिए, बोल्दिए पनि हुन्छ । हिजो एयरबस खरिद गर्दा निगमले ग्लोबल टेन्डर गरेको हो । बेस्ट क्वालिटीमा सस्तो विमान खरिद गरेको हो । यसमा कसैलाई कमिसन दिने, कागज मिलाउने भन्ने कुरा आउँदैन ।

कमर्सियल प्रमुखका नाताले नेपाली यात्रुलाई के सन्देश दिनुहुन्छ ?

विमान थोरै, यात्रु बढी भएकाले हामीले विश्वसनीय र भरपर्दो नियमित सेवा दिन चाहेर पनि सकिरहेका छैनौं । धेरै ट्राभल एजेन्सीले अहिले राष्ट्रिय ध्वजावाहक कम्पनीको महत्व बुझ्न थाल्नु भएको छ । हिजो काठमाडौं–दिल्लीको पर्याप्त उडान नहुँदा ५६ हजार तिरेर दिल्ली जाने यात्रु पनि मैले पाएको छु । सातामा १० उडान थपिएपछि १२–१५ हजारमा सहज रुपमा यात्रा गर्न पाइन्छ । त्यो सहजता सम्पूर्ण यात्रुलाई दिइराखेका छौं । अर्कोतिर सम्भव हुन्छ भने नेपाल वयाुसेना निगमबाटै यात्रा गरेर सेवा गर्ने अवसर दिनुहोला । यात्रापछि आफ्नो सुझाव, सल्लाह, आलोचना के दिनुपर्छ, दिनुहोला । त्यसलाई हामी स्वागत गरेर आफ्ना कमीकमजोरीलाई सुधार गर्न लाग्नेछौं ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org