ताजा समाचार

सौराहामा बाढीले राप्ती किनारमा रहेका रेस्टुराँका पव डुबायो

Saurahaचितवन, १४ साउन । वर्षापछि आज बिहान आएको बाढीले चितवनको रत्ननगर सौराहास्थित राप्ती किनारमा रहेका रेष्टुराँका पव डुबाएको छ ।

राप्ती नदीमा आएको बाढीले किनार क्षेत्रमा बनाएका दर्जनभन्दा बढी पव डुबाएको व्यवसायीले बताएका छन् ।

पर्यटन व्यवसायी शीरलाल परियारले किनारमा पर्यटकले बसेर खाने तथा आनन्द लिने क्षेत्रका दर्जनभन्दा बढी पव डुबाएको जानकारी दिनुभयो । सो क्षेत्रमा बाढीले कटान गर्ने गरेकाले अघिल्लो वर्ष बाँध बाँधिएको थियो ।

ड्यामका कारण कटान नभए पनि अहिले बाढी बढेकाले डुबाएको क्षेत्रीय होटल सङ्घ सौराहाले जनाएको छ । बछौली प्रहरी चौकीका इन्चार्ज श्यामबाबु यादवले किनार क्षेत्रका पव डुबाएको जानकारी दिँदै क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो ।

गएराति यहाँ वर्षा भएको थियो । वर्षाले चितवनका विभिन्न क्षेत्रमा बाढी आएकाले किनार क्षेत्रका बासिन्दा प्रभावित भएका छन् ।

पूर्वी चितवनको शक्तिखोरबाट बग्ने कयर खोलामा समेत बाढी बढेकाले पिठ्वा क्षेत्रको किनारमा रहेका सुकुम्बासी बस्ती प्रभावित भएका इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।

प्रहरीका अनुसार रत्ननगरको शान्तिचोकमा समेत केही क्षेत्र डुबान भएको छ । क्षतिको पूर्ण विवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।

यस्तै, चितवनको विकट काउलेमा पहिरो गएको खबर आए पनि क्षति के भएको हो भन्नेबारेमा जानकारी आइनसकेको चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिनुभयो ।

चितवनका प्रहरी प्रमुख सहकुलबहादुर थापाले पहिरोमा एकजना मानिस पनि परेको भन्ने जानकारीमा आए पनि पुष्टि भने नभएको बताउनुभयो । सो क्षेत्रमा प्रहरी टोली खटाइएको उहाँको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org