ताजा समाचार

चीनमा कार्यस्थलमा हुने दुर्घटना घट्यो

china-news-@.jpg

बेइजिङ, ५ भदौ । चीनमा कल कारखाना वा अन्य कार्यस्थलमा हुने गरेका दुर्घटनामा पछिल्ला वर्षहरुमा उल्लेखनीयरुपमा ह्रास आएको छ ।

चीनमा खानी मजदुरहरुको निधन एक ठूलो समस्याका रुपमा रहेको छ । हाल पनि कोइला खानीमा हुने गरेका दुर्घटनाले ठूलो समस्या सिर्जना गर्ने गरेको समाचारमा बताइन्छ ।

यसै कारणले पनि चीन सरकारले कार्यस्थलहरुमा सुरक्षित मापदण्डहरुको लागू गर्ने गरेको छ । पछिल्ला केही वर्षहरुमा यो मापदण्डलाई सबै कार्यस्थलमा अनिवार्य गरिएको छ ।

यसै मापदण्डको पालनाकै कारण चीनमा पछिल्ला वर्षहरुमा यसरी उद्योग, कल कारखाना वा खानीहरुमा कामगर्ने मजदुरहरुको कार्यस्थलमा हुने गरेको दुर्घटना र मृत्युको संख्यामा कटौती आइरहेको बताइएको छ ।

कार्यक्षेत्रमा पालना गरिनुपर्र्ने सुरक्षा मापदण्डको लागू गरी त्यसको अनुगमनमा कडाई गर्न सुरक्षित कार्यस्थल राज्य प्रशासनको नै स्थापना गरी सोही प्रशासनमार्फत यस्ता मापदण्डहरु लागू गर्ने गरिएको समाचारमा जनाइएको छ ।

सन् २०१५ मा पनि वर्षभरिमा करिब दुई लाख ८१ हजारवटा दुर्घटना कार्यस्थलमै भएको थियो । जसका कारण करिब ६६ हजार नागरिकको ज्यान गएको थियो ।

यो सङ्ख्या बिगतका वर्षहरुको तुलनामा थोरै हो । सन् २०१० मा मात्र पनि यसरी कार्यस्थलमा भएका दुर्घटनाहरुको सङ्ख्या तीन लाख ६३ हजार रहेको थियो ।

ती दुर्घटनाहरुमा परी सन् २०१० मा करिब ८० हजार नागरिकको ज्यान नै गएको थियो । मारिनेमा धेरैजसो खानी मजदुरहरु रहेका पनि सो तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यसरी हेर्दा कार्यस्थलमा हुने दुर्घटनामा २२।५ प्रतिशत कमी आएको छ भने मृत्युमा पनि १६।८ प्रतिशतले कमी आएको सो तथ्यांकमा उल्लेख छ । सन् २०१५ मा करिब ३८ वटा ठूला दुर्घटना भएका थिए र यसका कारण ७६८ जनाको ज्यान गएको थियो ।

यसको तुलनामा सन् २०१० मा भने कम्तीमा पनि ८५ वटा ठूला दुर्घटना भएका थिए र एक हजार ४४० जनाको ज्यान गएको थियो ।

उक्त प्रशासन कार्यालयले आइतबार दिएको जानकारी अनुसार सुरक्षित मापदण्डको लागू गरेको कारणले नै सो दुर्घटना र मृत्यु घटेको हो । रासस/सिन्ह्वा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org