ताजा समाचार

स्व.गायक खेमराज गुरुङका ८ अधुरा सपना

Late Singer Khemraj Gurung. Photo: Facebook

काठमाडौं, १७ भदौ । भनिन्छ, मानिसको जन्म र मृत्यु पूर्व निर्धारित नै हुन्छ । त्यसैले हुनुपर्छ सबैमाझ चर्चित ‘वारी जमुना पारी जमुना…’ गायक खेमराज गुरुङ ४० वर्षको अल्पआयुमा नै यस धर्तीबाट विदा भए ।

गुरुङले पूर्णकालीन राजनीतिज्ञ भएर देश विकास र स्थानीय सेवामा लाग्नेदेखि कृषि, पर्यटन र स्थानीयलाई रोजगारी दिनेसम्मका योजना बनाएका थिए । उनको अपुरो सपनाको डायरीमा गुम्बादेखि सिक्किम हाउससम्मका योजनाहरु कोरिएका थिए ।

तर, लिभरको रोगबाट पीडित गुरुङ ९ भदौंमा मेडिकेयर अस्पतालमा उपचार गराउँदा गराउँदैं सदाका लागि यो धर्तिबाट बिदा भए । अल्पायुमा बितेपछि उनका सपना र योजनाहरु पनि अधुरा रहेका छन् । उनले देखेका केही सपना र उनका योजनाहरुलाई उनको परिवार, आफन्त र साथीभाइसँगको कुराकानीका आधारमा नेपालीपत्रले संकलन गरेको छ । खेम गुरुङका अधुरा ८ सपना

१. अमेरिकामा सांगीतिक प्रस्तुती दिने

अमेरिकाका विभिन्न सहरमा आयोजना हुने सांगीतिक कार्यक्रमका लागि अगष्ट २८–२९ मा अमेरिका उड्ने तयारीमा रहेका गुरुङ अस्ताएसँगै उनले बुनेका सपना पनि अधुरै रहेका छन् ।

नेपाली चुल्होले आयोजना गर्ने उक्त कार्यक्रमा लागि उनले तयारी गरिरहेका थिए । अमेरिकामा जान र त्यहाँ नेपालीलाई गीत सुनाउन उनी उत्साहित देखिन्थे ।

२. गुम्बा र भ्यु टावर बनाउने 

गुरुङले अमेरिकामा रहँदा संखुवासभाको खाँदवारीमा आफैले शिलान्यास गरेको गुम्बाका लागि आर्थिक सहयोग जुटाउने उद्धेश्यले छुट्टै केही सांगीतिक कार्यक्रम गर्ने तयारीमा थिए । तर अब उनको त्यो गुम्बा ठड्याउने सपना पनि अधुरै रहेको छ ।

मकालु छ्यो सालिङ गुम्बाको कपरिसरमा उनले ठूलो बुद्धको मूर्ति र भ्यु टावर पनि निर्माण गर्ने सपना पनि उनको मृत्युसँगै ढलेका छन् ।

३.सिक्किम हाउस

एक महिनाअघि नै अमेरिका भ्रमणका लागि टिकट कन्फर्म गरेका गुरुङले खाँदवारीमै सिक्किम हाउस निर्माणका लागि तयारी गर्नकै लागि उडान स्थगित गरेका थिए ।

सिक्किमका पर्यटनमन्त्री गर्जमान गुरुङको उपस्थितीमा पर्यटकीय उद्धेश्यका साथ सिक्किम हाउस निर्माण गर्ने योजना बनाएका गुरुङलाई साथ दिने पनि धेरै भेटिसकेका थिए ।

गुरुङको यो योजनाका लागि स्थानीय एमाले नेता सुमन श्रेष्ठले ५ रोपनी जग्गा पनि उपलब्ध गराउने घोषणा गरिसकेका थिए ।

४. एग्रो अग्र्यानिक फार्म

गुरुङ संखुवासभालाई समृद्ध भएको देख्न चाहान्थे । उनी चाहान्थे संखुवासभाका युवा कोही पनि रोजगारीका लागि विदेश भौतारिनु नपरोस् र जिल्लालाई सुन्दर बनाउन लागि परुन् । यसका लागि पनि उनले योजना तयार पारिसकेका थिए । आफ्नै नाममा संखुवासभामा नै एग्रो अग्र्यानिक फार्म स्थापना गर्ने तयारीमा थिए, उनी । स्वच्छ खानेकुरा सस्तो

मुल्यमा उपलब्ध हुनुपर्छ भन्ने मान्यता राख्ने गुरुङ उक्त फार्मबाट उत्पादित तरकारी काठमाडौं सप्लाई गर्ने योजनामा बुनिरहेका थिए ।

उक्त योजना जिल्लाभर विस्तार गरेर युवाहरुलाई अग्र्यानिक खेतीमा प्रेरित गर्ने दिर्घकालीन सोच उनको थियो । अग्र्यानिक फार्म सञ्चालनका लागि सम्भाव्यताका विषयमा उनले खाँदवारीमा नै विचार गोष्ठी आयोजना गरिसकेका थिए भने उत्पादनको बजारीकरणका लागि काठमाडौंमा भाटभटेनीका मीन गुरुङ र विदेशस्थित व्यापारमा संलग्न नेपालीहरुसँग कुरा गरिसकेका थिए ।

सांगीतिक सहयोगी तथा भतिज धु्रवले पनि उक्त योजना अत्यन्तै राम्रो रहेको भन्दै व्यक्तिगत रुपमा नै सघाएका थिए । उनले गुरुङको उक्त फार्म स्थापनाका लागि ५ रोपनी जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाइसकेका थिए ।

५.कृषि र पर्यटनबाट समृद्धि

कृषिबाट समृद्ध खाँदवारी बनाउने सपना देखेका गुरुङले पर्यटनमा पनि त्यत्तिकै सम्भावना देखेका थिए । खोला किनारमा रिसोर्ट सञ्चालन गरेर अर्थोपार्जन गर्न सकिन्छ भन्ने उनको विश्वास थियो । सोही विश्वासलाई यथार्थमा ढाल्न गुरुङले छिट्टै रिसोर्ट खोल्ने कल्पना गरेका थिए । तर उनको देहान्त भएसँगै उनको रिसोर्ट सपना पनि अधुरै रहेको छ ।

तर हालै नेपालीपत्रसँगको कुराकानीका क्रममा उनका सहयोगीका रुपमा उनलाई लामो समय साथ दिएका धु्रबले खेमका सपनाहरुलाई पूरा गर्ने बताए । उनले भने, ‘काकाका सपनाहरु त्यसै चुँडिन दिनेछैन ।’

६.महोत्सव र नयाँ गीति रिलिज गर्ने योजना

गुरुङको चर्चिच गीत वारी जमुना पारी जमुना संखुवासभाकै स्थानीय मारुनी गीतको १२ औं राग हो । जसमा त्यहाँको प्रख्यात मनकामना मन्दिरको बारेमा उल्लेख गरिएको छ ।

जुन मनकामनाको गीतले उनलाई चर्चाको शिखरमा पु¥यायो, सो स्थानलाई पनि चर्चामा पु¥याउन पहल गर्ने उनको लक्ष्य थियो । खाँदवारी नगरपालिका वडा नम्बर १२ र १३ मा पर्ने उक्त मन्दिरको प्रचारका लागि महोत्सव आयोजना गर्ने र सोही स्थानबाट आफ्नो पर्यटन सम्बन्धि गीत पनि रिलिज गर्ने उनको योजना थियो ।

७.राजनीतिक गर्ने चाहना

पूर्ववत रुपमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु काठमाडौं उपत्यका सांस्कृतिक कमिटीका सचिव समेत रहिसकेका गुरुङ २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा सभासद्का लागि समानुपातिक उम्मेदवार थिए ।

विभिन्न फोरम मार्फत सामाजिक कार्यकर्ताका रुपमा आफूलाई उभ्याउँदै गएका गुरुङले केही समयमै आफूलाई पूर्ण रुपमा राजनीतिमा होम्ने बताउँदै आएका थिए ।

तर, पूर्णकालीन राजनीतिक भएर देश विकास र स्थानीयको सेवामा लाग्ने उनको सपना पनि पूरा हुन सकेन ।

८.सुनसरीमा सांगीतिक कार्यक्रम

अमेरिकाको टिकट स्थगित गरेर सुनसरीका लागि सांगीतिक कार्यक्रममा जाने तयारीमा थिए गुरुङ । एकाएक घरमा केही मानिस आए र उनलाई केही नभनी भ्यानमा हालेर लगे । बाँसबारीस्थित नानर्कोनमा केही दिन बिताएपछि विरामी परेका उनलाई अस्पताल भर्ना गरियो ।

तर, उनलाई ठीक भएन । ९ भदौंमा उनी मेडिकेयर अस्पतालको बेडबाट सदाका लागि हामीबाट बिदा भएर गए । नेपाली पत्रबाट 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org