ताजा समाचार

सैलुनबाट मासिक एक लाख कमाइ

चितवन, ६ असोज । खाडी मुलुक कतारमा दुई वर्षसम्म मेसिन हेल्परका रुपमा काम गर्दा अत्तालिएर स्वदेश फर्किएका एक युवाले यहाँ सैलुन खोलेर मासिक रु एक लाख आम्दानी गर्दै आउनुभएको छ ।

भरतपुरको चौबीसकोठीमा मासिक रु २५ हजार भाडा तिर्ने गरी पपुलर जेन्स पार्लर खोलेका पार्वतीपुरका २९ वर्षीय श्रीराम सिग्देल खाडी मुलुकमा भौँतारिनेहरुका लागि उदाहरणीय बन्नुभएको छ ।

चार वर्षअघि स्वदेश फर्किएर छ महिनासम्म सैलुन तालिम लिएर सिग्देलले आफ्नै व्यवसाय सुरु गर्नुभएको हो । रु एक लाख खर्चिएर कतार पुग्नुभएका सिग्देलले १२ घन्टासम्म चिनियाँ फर्मलाइन कम्पनीमा मेसिन हेल्परका रुपमा खटिँदा मासिक रु १५ हजार मात्रै बच्थ्यो । करिब रु चार लाख ५० हजार खर्च गरी उहाँले सुरु गर्नुभएको सैलुनबाट रु ७० हजारदेखि रु एक लाखसम्म मासिक बचत गर्नुहुन्छ ।

उहाँलाई श्रीमती सुष्मिताले समेत कपाल काट्न साथ दिँदैआउनुभएको छ । उनीहरुले नै तालिम दिएका अन्य दुईजनाले समेत रोजगारी पाएका छन् । खाडी मुलुकमा जे पनि गर्न हुने स्वदेशमा काम गर्न किन नहुने भन्ने मनःस्थितिका साथ पेसामा लागेको सिग्देलको भनाइ छ ।

उहाँले आफ्नै पार्लरमा ४० युवा र १३ युवतीलाई तालिम दिइसक्नुभएको छ । तालिम लिएकाहरु क्यानडा, अस्टे«ेलिया र चीन गएको सिग्देलले बताउनुभयो । तर खाडी मुलुक नजान उहाँले सल्लाह दिँदैआउनुभएको छ । निकट भविष्यमा उहाँ नवलपरासीको कावासोतीमा अर्काे सैलुन खोल्ने तयारीमा हुनुहुन्छ ।

उच्च माविसम्मको अध्ययन गर्नुभएका सिग्देलको सैलुनमा अहिले दैनिक २० देखि ३० जना ग्राहक आउने गर्दछन् । व्यवसाय मिल्ने गरी दौँतरीको खोजीमा रहेका सिग्देलले एक वर्षअघि सिटिइभिटीमा कपाल काट्ने तालिम लिनुभएकी सुष्मितासँग विवाह गर्नुभयो । यसबाट उहाँलाई व्यवसायमा सहयोग पुगेको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org