ताजा समाचार

राजनीतिक निकास खोज्न प्रधानमन्त्रीलाई सभामुखको आग्रह

काठमाडौं । सभामुख ओनसरी घर्तीले संसदीय गतिरोध अन्त्य गर्दै राजनीतिक सहमति जुटाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गर्नुभएको छ । राजनीतिक गतिरोध अन्त्य गर्दै आगामी आइतवार बस्ने संसद बैठक सञ्चालनको उपयुक्त वातावरण बनाउन प्रधानमन्त्रीलाई सभामुखको बिशेष आग्रह थियो ।

प्रधानमन्त्रीलाई भेट्न राजधानीको वालुवाटारस्थित सरकारी निवास पुगेकी सभामुख घर्तीले सर्वोच्च अदालतको आदेशपछि सहमति उन्मुख भएको राजनीतिक गतिरोध निकासको उपयुक्त आधार तयार पार्न प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउनु भएको हो ।

सहमतिका लागि पर्याप्त समय दिदै संसद बैठक ५ दिनका लागि स्थगित गराएको जानकारी गराउदै घर्तीले सत्ता नेतृत्वकर्ता दलको हैसियतमा प्रधानमन्त्रीको भूमिका महत्वपूर्ण रहेको स्मरण गराउनुभएको हो । दलीय सहमति बिना विधेयक दर्तापछिको गतिरोध अन्त्य नहुने तर्फ सभामुखको बिशेष चासो रहेको उहाँको प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो । जवाफमा प्रधानमन्त्री दाहालले राजनीतिक निकासका लागि सरकार गम्भीर रहेको बताउदै दलीय छलफललाई तिब्र बनाउने आश्वासन दिनुभएको थियो ।

आगामी आइतवारभित्रै सहमति जुटाउदै संसद सञ्चालनको वातावरण बनाउने दावी गर्दै उहाँले सहमतिका लागि सभामुखले जारी राख्नु भएको प्रयासको प्रशंसा गर्नुभएको थियो । सहमतिका लागि लचक बन्न आग्रह गर्दै सभामुख घर्तीले एमाले अध्यक्ष केपी शर्मा ओली, संसदीय दलका उपनेता सुवास नेम्बाङ, कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका नेतासँग हिजै छलफल गर्नुभएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org