ताजा समाचार

धुर्मुस–सुन्तलीद्वारा मुसहर बस्ती निर्माणको शिलान्यास

महोत्तरी २६ पुस ।  हास्य कलाकारको टोलीले सोमबार बर्दिबास–२ स्थित ‘एकीकृत नमुना मुसहर बस्ती’ शिलान्यास गरेको छ । महजोडी, धुर्मुस–सुन्तली, किरण केसी, जितु नेपाललगायत दर्जनभन्दा बढी कलाकारले एकैसाथ घरको जगमा इँटा राखेर निर्माण कार्य शुभारम्भ गरेका हुन् । 

दलित समुदाय मुसहरको जीवनस्तर उकास्ने यो प्रयास धुर्मुस–सुन्तली फाउन्डेसनले सुरु गरेको प्रेरक र महत्त्वाकांक्षी अभियान रहेको भन्दै महजोडीले प्रशंसा गरे । मदनकृष्ण श्रेष्ठको टिप्पणी थियो, ‘कलाकारले सुरु गरेको यो प्रयास नेताहरूका लागि ‘च्यालेन्ज’ हो ।’ 

हरिवंश आचार्यले मधेसको सबैभन्दा दलित मानिने मुसहर बस्तीमा सुरु यो अभियान राष्ट्रिय एकताको प्रतीक रहेको धारणा राखे । अभियानकर्ता दम्पती सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले यो अभियान मानवता र सद्भावका लागि सहकार्यको सुरुआत भएको बताए । 

 शिलान्यास कार्यक्रमको उद्घोषण सम्हालेका हास्य कलाकार मनोज गजुरेलले भने, ‘हिजो नेपालीका मुहारमा मुस्कान छर्दै आएका हास्य दम्पतीले अब मन हँसाउन प्रयास सुरु गरेका छन् । यो सत्प्रयासले सबैको सहयोग, सद्भाव र शुभेच्छाले मात्र पूर्णता पाउन सक्छ ।’ 

एकीकृत नमुना मुसहर बस्ती परियोजना’ का संयोजक अर्जुनप्रसाद न्योपानेका अनुसार परियोजनाअन्र्तगत बर्दिवसाका मुसहर बस्तीमा ५० आवासीय घर, १ सामुदायिक भवन र १ मन्दिर बनाइनेछ । १४ कट्ठा १० धुर जग्गामा सुरु गरिएको परियोजनामा ३ कोठा, बरन्डा र चोटासहितको पक्की घर निर्माण गर्न लागिएको हो । प्रतिघर ८ लाखका दरले कुल परियोजना लागत ४ करोड ७८ लाख लाग्ने अनुमान छ । 

कलाकार कट्टेलका अनुसार अनुमानित लागतमध्ये १ करोड ३ लाख रुपैयाँ सिन्धुुपाल्चोकको गिरानचोकमा भूकम्प पीडितका लागि निर्माण गरिएको परियोजनाबाट बचेको रकम मुसहर बस्ती निर्माणका लागि छुट्टयाइएको हो । अपुग रकम देशविदेशमा रहेका शुभेच्छकबाट जुटाइने उनले जनाए । 

कार्यक्रमकै बेला महजोडीले एक लाख, किरण केसी (रातामकै) ले १० हजार, स्थानीय गौतम होटलका हीरा गौतमले १ लाख, पत्रकार राजकरण महतोले १० हजार नगद सहयोगको घोषणा गरे । स्थानीय विकास अधिकारी कृष्ण चापागाईंले पूर्वमन्त्री गिरीराजमणि पोखरेलको सांसद कोषबाट १० लाख र अर्की सांसद निर्जला राउतले समेत सहयोग गर्ने जानकारी गराए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org