ताजा समाचार

‘प्रहरी मेरो साथी’अभियानको प्रभावकारिता

ट्राफिक प्रहरीले सडक दुर्घटना घटाउने मुल ध्येय लिई विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । आम नागरिक, सवारी चालक, बटुवा सबैसंग समन्वयात्मक भूमिका खेल्दै समाजमा रहेका विकृति, विसंगति र अपराध न्यूनीकरण गर्दै नेपाल प्रहरी अघि बढ्नु जरुरी रहेको छ ।

अपराध नियन्त्रण गर्नका लागि विना बर्दीका प्रहरीहरु भनेका आम नागरिकहरु नै हुन् तसर्थ समुन्नत समाज निर्माणका लागि हामी सबैको समान कर्तव्य र महत्वपूर्ण भूमिका रहेको हुन्छ । अपराध गर्ने अपराधी, चोरी, डकैती गर्ने हरुलाई पहिचान गरी नेपाल प्रहरीलाई सूचना गर्नु तपाईं हामी सबैको कर्तव्य पनि हो । दिनदहाडै अपहरण, चन्दा आतंक, लुटपाट गर्नेहरुलाई नियन्त्रणमा लिई कानुनी कारवाही गर्नु र समाजमा शान्ति सुव्यवस्था कायम राख्नु नेपाल प्रहरीको मुख्य कार्य हो ।

देशका विभिन्न चोक चोकमा रहेको प्रहरी विट, ट्राफिक प्रहरीहरु हाम्रा शत्रु होइनन् , उनीहरु हाम्रा मित्र हुन् , सहयोगी हुन् त्यसैले प्रहरीसंग हातेमालो गर्दै अपराध नियन्त्रण गर्नमा एकजुट भएर हामी लाग्नुको विकल्प छैन् । बढ्ढो जनसंख्या, अव्यवसिथत शहरीकरण र बढ्ढो सवारी साधनका कारण राजधानीका सडकहरु सांघुरिएका छन् , प्रहरीको संख्या अपुग भएको महशुस गर्न सकिन्छ ।

नेपाल प्रहरीले केही महिनाअघि  “प्रहरी मेरो साथी” अभियानको घोषणा गरेको छ र समाजमा हुने घटना न्यूनिकरण गर्ने लक्ष्य समेत लिएको छ । नेपाल प्रहरीको यसप्रकारको कार्यलाई सबै नागरिकहरुले साथ दिई अगाडी बढ्नुपर्दछ । तपाई हाम्रो सानो सहयोगले गर्दा साधारण र मोष्ट वाण्टेड अपराधीहरु पक्रीन सक्दछन् । हाम्रो देश सानो भएता पनि समुन्नत समाज स्थापनाका लागि शान्ति सुरक्षा कायम राख्नको लागि नेपाल प्रहरी सक्षम रहेको छ ।

देश तथा विदेशमा हुने अपराध नियन्त्रण गराउनका लागि समेत नेपाल प्रहरी लागीपरिरहेको छ । नेपाल लाई ट्रान्जिट प्वाइन्ट बनाएर अपराध गर्ने अपराधीहरु , अपहरण, नेटवर्किङ्ग, अवैध मुद्रा, सुनतस्करी, लागु औषध, चेलीबेटी बेचविखन र हत्या जस्तो अपराधमा संलग्न अपराधीहरुलाई नेपाल प्रहरीले नियन्त्रणमा लिई कारवाही गर्दैआइरहेको छ । नेपाल भित्र बसेर अन्तराष्ट्रिय आतंकबादी समूहसंग मिलेर आतंक फैलाउने अपराधीहरुलाई समेत नेपाल प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाही गर्दैआइरहेको छ ।
हाम्रा समाजमा हुने अपराध नियन्त्रण गर्नका लागि समयमै प्रहरीलाई खवर गर्ने बानी बसालौं । अपरिचित मानिसहरु माथी निगरानी राखौं । घर भाडामा दिंदा भाडामा बस्नेको नागरिकता सहित विस्तृत विवरण लिएर मात्रै राखौं । अपरिचित व्यक्तिहरुसंग बालबालिकाको सम्पर्कबाट टाढै राखौं । सार्वजनिक यातायातमा यात्रा गर्दा अपरिचितहरुसंग बोलचाल नगरौ र उनीहरुले दिएका खानेकुराहरु नखाऔं त्यसैगरी सार्वजनिक स्थलहरु विद्यालय, बैक, मन्दिर, अस्पतालहरुमा विशेष निगरानी राखौं त्यस्ता ठाउंहरुबाट आफन्तलाई फोन गर्दा विशेष सावधानी अपनाउने बानी बसालौं ।

विद्यालय जाने बालबालिकाहरुलाई अभिभावकहरु आफैले लाने र ल्याउने कार्य गरौं । आफ्ना बालबालिकाहरुलाई नेपाल प्रहरीको फोन नं १०० र हराएमा वा आपतविपद् पर्दा नेपाल प्रहरीलाई खवर गर्ने बानी बसाल्नुपर्दछ । ट्राफिक प्रहरी र सडक यातायात सम्बन्धी विशेष जानकारी आफ्ना बालबालिकाहरुलाई दिने गरौं । बालबालिकाहरुलाई सडकमा सभ्य र अनुसासित भएर हिडाउने र ट्राफिक नियम सम्बन्धी जानकारी दिने वानी बसालौं । प्रहरी बारे बालबालिकाहरुलाई गलत प्रचार प्रसार नगरौं ।

नेपाल प्रहरी भित्र पनि शसस्त्र प्रहरी वलले सिमा सुरक्षा लगायतका संम्बेदनशिल क्षेत्रहरुमा सुरक्षा दिंदै आइरहेको छ भने ट्राफिक प्रहरीले सडक र सवारी सम्बन्धी क्षेत्र हेरिरहेकोछ त्यती मात्रै होईन सामुदायीक प्रहरीले समुदायमा रहेर नागरिकहरुसंगसंगै शान्तिसुरक्षामा खटिरहेकै छ भने सादा पोशाकमा समेत नेपाल प्रहरीहरु खटिरहेकै छन् । नेपाल प्रहरीले संगठन भित्र विभिन्न शाखाहरु खेली शान्ति सुरक्षा कायम राख्न पहल गरिरहेकै छ । यस अर्थमा पनि नेपाल प्रहरीले घोषणा गरेको “प्रहरी मेरो साथी” कार्यक्रम सकारात्मक रहेको छ । नाम जस्तै काम गरी आम नागरिकहरुको मन जित्नको लागि नेपाल प्रहरीले कुनै कसर बांकी राख्नुहुंदैन् ।
राजधानी लगायत देशका विपिभन्न स्थानहरुमा सडक मर्मत सुधार नहुनु, सडकको स्तरोन्नती नहुनु, बर्षाको समयमा ड्रेनको पानी खोलाझै सडकमै बग्ने कारणहरुले गर्दा सडक दुर्घटना बढ्ढै गईरहेका छन् । ट्राफिक प्रहरीले विभिन्न सडकहरुलाई वन वे, पार्किङ्ग निषेध गरेता पनि व्यवहारमा भने लागु हुनसकिरहेको छैन् । जथाभावी पार्कीङ्ग गर्ने गलत परम्पराले गर्दा वटुवा र सर्वसाधारणहरुलाई आवत जावत मा कठिनाई भईराखेको छ । राजधानीका विभिन्न स्थानहरुमा जथाभावी पार्कीङ्ग गरी सडक आवागमनमा अवरोध गर्नेहरु, जथाभावी बाटो काट्ने बटुवाहरु, फुटपाथ पसलेहरुलार्ई ट्राफिक प्रहरीले कारवाही गर्ननसक्नु कमजोरीको रुपमा लिनसकिन्छ । मुख्य चोकहरुमा ट्राफिक संकेतको व्यवस्था हुननसक्दा ट्राफिक प्रहरीको इसारामा ट्राफिक व्यवस्थापन भइराखेको छ । ट्राफिक संकेत चिन्ह विग्रीएको बर्षौ हुंदा समेत मर्मत सम्भार हुननसक्नु दुःखद विषय बन्नपुगेको छ ।

ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई सजाएं दिंदा जरिवानै तोकेर मात्रै हुंदैन् । जबसम्म मानिसमा नैतिकता र जनचेतना हुंदैन तबसम्म नियम उल्लंघन हुने गर्दछ । ट्राफिक प्रहरीले जानाजान बाटो अवरोध गर्ने, लेन स्पष्ट देखिंदादेखिंदै उल्लंघन गर्ने, मा.प.से गरेर सवारी चलाउने, क्षमता भन्दा बढी यात्रुहरु राखेर सवारी चलाउनेलाई नियमानुसार कारवाही गर्नु राम्रै कुरा हो । समग्रमा भन्ने हो भने ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्नेलाई कानुनी कारवाही गराउने मुख्य जिम्मेवारी रहेको छ । सडकको क्षमता भन्दा पनि सवारी साधनहरु दिनप्रतिदिन बढ्ढै गईरहेका छन् । उपत्यकामा मोटर बाइक, ट्याक्सी, टेम्पो, माइक्रोवस र अन्य बसहरुले छोटो दुरीहरुमा सेवा संचालन गरिरहेकाछन् भने साझा यातायात, नेपाल यातायात लगायतका यातायातका साधनहरु रिंगरोड भित्र र बाहीर संचालनमा आएका छन् । थोत्रा र मर्मत संम्भार नगरिएका गाडीहरु सडकमा गुडाउंदा दुर्घटना हुने सम्भावना पनि बढ्ढै गईरहेकोछ । सडक विभागले बर्षौ सम्म सडक मर्मत सुधार नगरिंदिंदा अर्कौ समस्या थपीएकोछ । बर्षा लाग्ने वितिकै शहरका सडकहरु सडक हुन की खोला हुन ठम्याउनै मुस्किल पर्ने हुन्छ । सडक छेउका मंगाल र ढलहरु समय समयमा सफा नगरिदिंदा यस्तो अवस्था बर्षेनी आउने गरेको छ ।

यात्रुहरु बाहिर सम्म झुण्ड्याएर असुरक्षित यात्रा गर्नु सर्वसाधारणहरुको नियती बन्नपुगेकोछ । लेन अनुसासन पालना नगर्ने र मापसे गर्नेलाई मात्रै होईन् नियम मिचेरै अशक्त, वृद्घवृद्घा ज्येष्ठ नागरिक, अपांङ्ग, महिला सिटमा बस्नेहरुलाई ट्राफिक प्रहरीले कारवाही गर्नसकेको छैन् । उपत्यका बाहिरीने सवारी साधनको छतमा समेत खचाखच यात्रु राखी सवारी चलाउने, यात्रुहरु सिट क्षमता भन्दा बढी राखी झुण्ड्याएर सवारी हुईंक्याउंनेलाई ट्राफिक प्रहरीले कारवाही गरिनुपर्दछ । ट्राफिक प्रहरीले ससाना नानीहरुलाई गुन्द्रुक कोचे जस्तै कोची ट्राफिक प्रहरीकै अगाडीबाट गुडिरहेका गाडीहरु नियन्त्रणमा लिई कारवाही गर्न कुनै कसर बांकी राख्नुहुंदैन् । राजधानीबाट बाहिरिने लामो यातायातका सवारी साधनहरुमा दुईजना चालक चाहिने भएतापनि कतिपय यातायात व्यवसायीहरुले सो नियम पालना गरिरहेका छैनन् । राजमार्गहरुका पुलहरु जिर्ण भएतापनि मर्मत सुधारको कुनै पहल नहुंदा कुनैपनि बेला ठुलो दुर्घटना नहोला भन्नसकिंदैन् ।

पछिल्लो समय ट्राफिक प्रहरीले कारवाहीको दायरा फराकीलो बनाएको छ । ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई जरीवाना र जनचेतना कक्षा संचालन गरिरहेको छ जुन सकारात्मक रहेको छ । धेरैजसोले जनसचेतना कार्यक्रममा आधा घण्टा भन्दा बढी समय भिडीयो गीतहरु देखाउनु थप करिब आधा घण्टा ट्राफिक प्रहरीको तर्फबाट हुने प्रवचनले सवारी उल्लंघनमा कमी हुननसक्ने जनाएका छन् । ट्राफिक सचेतना कक्षाहरु संचालन हुनु सकारात्मक विषय पनि हो । यस्ता कार्यक्रमहरु सार्वजनिक स्थलहरुमा, विद्यालय, क्याम्पसहरुमा गएर गर्नसकियो भने ट्राफिक नियम उल्लंघनमा उल्लेख्य कमी आउने थियो । अहिले चोकचोकका ट्राफिक प्रहरीहरु विभिन्न रोगहरुले ग्रसित हुनपुगेका छन् ।

पछिल्लो समय ट्राफिक प्रहरीले क्यामरा प्रयोग गरेर र सिसिटीभि फुटेजको आधारमा ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई कारवाही अगाडी बढाएको छ जुन सकारात्मक रहेको छ । कतै कतै ट्राफिक प्रहरीले आफुखुशी कारवाही गरेको घटनाहरु पीडितहरुले बताइराखेता पनि ती विषयलाई ट्राफिक प्रहरीले अस्वीकार गर्दै आएको छ । ट्राफिक प्रहरीले आफ्नो आचरण सुधार्नुपर्दछ र आम नागरिकहरुको पक्षमा काम गर्नुपर्दछ । नेपाल सरकारले ट्राफिक प्रहरीहरुको दरबन्दी थप्नुपर्ने र उचित तालीम दिनु आवश्यक रहेको छ ।

उपत्यकाका मुख्य चोकहरुमा सडक बती (ट्राफिक लाईटको) व्यवस्था सरकारले अविलम्ब गरिनुपर्दछ । अन्तमा समाज निर्माणका हामी एक हिस्सेदारहरु सबैले ट्राफिक नियम पालना गरौं । दोष जति अरुलाई थोपर्ने, आफ्नो गल्ती नदेख्ने परंम्पराको अन्त्य गरौं ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org