ताजा समाचार

तेजपात भारततर्फ निर्यात,व्यावसायिक रुपमा लगाउन थालेपछि उत्पादन बढ्यो

पाल्पा, २७ पुस । जिल्लाबाट तेजपातको पात र बोक्रासहित ११ लाख ८१ हजार ८३५ किलो भारत निर्यात भएको छ ।

आव २०७२/७३ मा ९ लाख ९३ हजार ७११ किलो तेजपातको पात र एक लाख ८८ हजार १२४ किलो बोक्रा भारत निर्यात भएको जिल्ला वन कार्यालयका शाखा अधिकृत रमा श्रेष्ठले जानकारी दिनुभयो । यहाँका सामुदायिक वन र निजी वनमा व्यावसायिक रुपमा तेजापात लगाउन थालेपछि उत्पादन बढ्दै गएको छ ।

गत आवमा जिल्लाबाट रु पाँच करोड ४६ लाख ५४ हजार बराबरको तेजपातको पात र रु एक करोड ८८ लाख १२ हजार बराबरको बोक्रा भारत निर्यात भएको थियो । कोलडाँडा, दोभान, झडेवा, गोठादी, सत्यवती, बल्ढेगढी, भुवनपोखरीलगायत गाविसका सामुदायिक र निजी वनमा व्यावसायिक रुपमा तेजपातको खेती गरिँदै आएको छ ।

तेजपातको पात प्रतिकिलो रु ५० देखि रु ५५ सम्म तथा बोक्रा प्रतिकिलो रु ८० देखि रु १०० सम्ममा स्थानीय बजारमा खरिद बिक्री हुँदै आएको छ । बारीका कान्ला र बाँझो खेतबारी तथा खरायनमा तेजपातको खेती गरिँदै आएको छ ।

एक पटक रोपेपछि पटकपटक पात र बोक्राबाट आम्दानी गर्न सकिने भएपछि अधिकांश गाविसमा किसान तेजपातखेतीतर्फ आकर्षित हुन थालेका छन् । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org