ताजा समाचार

सालीनदी, स्वस्थानी ब्रतका नियम र यथार्थ

मणिशैल महावदानमा मायासुर दानवको अत्याचार अन्त्य गर्न भगवान नारायणले सर्वप्रथाम विश्व ब्रम्हाण्डमा सालीनदीको मुहान तारातीर्थ स्थानमा एकमहिने व्रत अनुष्ठान गरी महांकाल क्षेत्रपाल भैरवको पुरोहित्याईमा सम्पन्न गरी बज्रायोगिनीको दर्शन प्राप्त गरी विजयबाहिणी मन्त्र समेत प्राप्त गरेर मायासुर दानव संहार गरेको सन्दर्भ लेखिएको अनुसार नै सालिनदी तीरमा व्रत बसाल्ने परम्परा रहीआएको छ र हालसम्म स्वस्थानी व्रतले निरन्तरता प्राप्त गरिरहेकोछ ।
स्वस्थानी पुस्तक अनुसार स्वस्थानी व्रत सर्वप्रथम नारायण विष्णु,त्यसपछि पार्वती गंगा, अप्सरा, गोमा, नागनागिनी, चन्द्रावती, नवराज हुंदै सर्वसाधारणमा स्वस्थानी व्रत शुरु भएको मानिन्छ । पवित्र सालीनदीको पानीले नुहाएमा शरिरमा भएका विभिन्न रोहरु नष्ट भई रोग निको हुनुका साथै शारिरीक तथा मानसिकरुपमा तन्दरुस्त हुने जनविश्वास छ । शालीनदी क्षेत्रमा वासुकी नागको संगमस्थल, स्वस्थानी मन्दीर, नवराज, डोलेहरु, माधवनारायणको व्रतवब्ध, गुफा राख्ने मन्दिर, अश्वमेघ यज्ञ स्थल, भिमसेन मन्दिर, सरस्वती हनुमान, विष्णु, बुद्घ, विष्णुपाली, शिवलिङ्गहरु रहेका छन् । सालीनदी विचमा माधव नारायण स्नान गराउने ठाउंमा सातवटा कुण्डहरु रहेको र कुण्डबाट दुध बग्ने समेत जनविश्वास रहेकोछ ।
हरेक बर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्री स्वस्थानी माताको व्रत उपासना गर्ने पौराणिक धारणा रहीआएको छ । स्वस्थानी व्रत संगसंगै नेपालीहरुको घरघरमा स्वस्थानी वाचन गर्ने परम्परा समेत रहीआएकोछ । हरेक बर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म राजधानी को सांखु स्थित शालीनदीमा मेला लाग्ने गर्दछ । मुलुकका विभिन्न स्थानहरुबाट आएका ब्रतालुहरु माधव नारायण संगसंगै आफ्नो मनोकांक्षा पुरा गर्ने हेतुले ब्रत उपासना बस्ने गर्दछन् । हिन्दू शास्त्र अनुसार विष्णु स्वयंले पार्वतीलाई स्वस्थानी व्रत विधि ज्ञानोपदेश दिई स्वयं भगवान नारायणले पूर्ण ज्ञान, व्रत कथा र व्रत साङ्गे पनि गुरु स्वरुप भई पार्वतीको स्वस्थानी पूर्ण गरीदिएको र माताको ब्रत फलस्वरुप श्रीमहादेव स्वामी पाएको र नारायणको आर्शिवादमा कैलाश प्राप्त भएको किवंदन्ती र जनविश्वास रहेकोले स्वस्थानी(माधव नारायण भगवानलाई) साक्षी राखेर प्रत्येक वर्ष यो व्रत निरन्तर चलिरहेकोछ ।
स्वस्थानी ब्रत विष्णु भगवानको आदेशमा पार्वतीको आज्ञा बमोजिम स्वर्ग, पाताल र मत्र्यमण्डलमा स्वस्थानीको व्रतपूजा सम्पन्न गराई फल प्राप्त गरेको किंवदन्तीमा रहेकोछ । स्वस्थानीलाई माधव नारायण भन्नुका कारण १२ महिनामा नारायण विष्णु भगवानले विभिन्न रुप लिनुहुने जसअनुसार बैशाखमा मधुसुदन नारायण, जेठमा त्रिविक्रम नारायण, आषाढमा वामन नारायण, श्रावणमा श्रीधर नारायण, भाद्रमा ऋषिकेश नारायण, असोजमा पद्मनारायण, कार्तिकमा दामोदर नारायण, मंसिरमा केशव नारायण, पौष महिनामा नारायण, माघमा माधव नारायण, फाल्गुणमा गोविन्द नारायण र चैत्र महिनामा विष्णुरुपले पुजिने हुंदा माघ महिनामा नारायणको नाम माधव हुनेभएकोले माधव नारायणको नामले माघ महिनाभर पुजिने र कान्ति लक्ष्मी प्राप्त हुने विश्वास लिईएकोछ ।

स्वस्थानी ब्रतका ब्रतालुहरुले अलिनो खाना एक छाक मात्र खाएर, जुत्ता, मोजा नलगाई खाली खुट्टाले हिंडीं, घरधन्दा, र परिवारलाई छोडेर स्वस्थानी परमेश्वरीको व्रत उपासनामा लीन भई भगवान नारायण संगसंगै आफ्नो मनोकांक्षा पुरा गराउनको लागि सांखुस्थित सालीनदी घाटमा स्वस्थानीको ब्रत बस्नेगर्दछन् । स्वस्थानी ब्रतको आफ्नै धार्मीक, ऐतिहासीक र पौराणीक महत्व रहेको छ । पौष शुक्ल पूर्णिमा देखि ब्रत शुरु हुने भएतापनि अघिल्लो दिनमै पुरुष ब्रतालुहरुले हात गोडाको नङ्ग काटी, कपाल खौरिएर , शुद्घ एकभक्त भई ज्र्योितलिङ्गेश्वर महादेवस्थानबाट जल र संकल्प सहित माधव नारायण राखेको पुजारी घरमा गई दर्शन गरी ब्रत बस्ने प्रतिज्ञा गर्नुपर्दछ । सुवर्ण वर्णकी कमलको फूलको पात जस्ता तीन वटा आंखाहरु भएकी शोभामान भई सिंह वाहन, अनेक अल्लंकारले युक्त चारवटा हातमा नीलउत्पल, अभरबर, खडग, चमर दायांबांयां लिएकी स्वस्थानी माताको दैनिक ध्यानजप र पूजापाठ गर्नुपर्दछ त्यस्तै गरी महिला ब्रतालुहरुले नुहाई हातगोडाको नङ्ग काटी शुद्घ भै संकल्प गर्नुपर्दछ ।

एक महिना सम्म पुरुष ब्रतालुहरु सालिनदीको धलंपुल (पौवा) मै सुत्नुपर्ने र महिलाहरु सांखु नगरभित्रको घरमा बहालमा बस्नसक्दछन् । ब्रत अवधिमा माछा, मासु, अण्डा, दाल, लसून, प्याज, साग, नून, तेल, मसलाा खान र प्रयोग गर्न बर्जित गरिएको छ । केराऊ, चाकु, अदुवा, दुध, घयू, पाटने पालुङ्गो, लप्सी, रातो मूला मात्रै खान हुन्छ । ब्रतालुहरुले प्रत्येक दिन ब्रतालुहरुले दैनिक स्नान गरी नित्यपूजा, जप, तप, ध्यान, स्वस्थानी श्रवण गरी सूर्यपूजा, शिवपार्वती सहित सम्पूर्ण देवीदेवताहरुको पूजा अर्चना गरि सांखु नगर भित्र एकसय आठ स्थानमा अष्टाङ्ग प्रमाण, सहस्र जलधारा अर्पण गर्नुपर्दछ र बेलुकी भएपछि कोठामा गई अलिनो खाना खानुपर्दछ । पुरुष ब्रतालुहरु पुनः सालीनदी किनारको पाटी धलंपुलीमा गई आरती गरेर मात्र सुत्नपाउंदछन् ।

माघ कृष्ण त्रयोदशीका दिन व्रतालुहरु शालीनदी देखि बज्रयोगिनीसम्म पुरुष ब्रतालुहरुले जीउ नाप्दै र महिला ब्रतालुहरु उनीहरुको पछि पछि गई स्वस्थानी माताको प्रतिक बज्रयोगिनीको दर्शन गर्ने र त्यस्को भोलीपल्ट चर्तुदशीका दिन सम्पूर्ण व्रतालुहरु माधवनारायण सहित बज्रयोगिनी दर्शन गरी पूजाआजा सकेर सांखु आई भोजन गरी पशुपतिनाथ मन्दिर पुग्ने गर्दछन् । माघ कृष्ण औशीको दिनमा आर्यघाटमा रहेको विरुपाक्ष लाई नारायणको रुप मानी माधव नारायणलाई विराजमान गरी व्रत पूजा सकेपछि पशुपति क्षेत्रका देवीदेवताहरुको दर्शन पूजा र पुरुष ब्रतालुहरु सहस्रजलधारा अर्पण गरी अष्टाङ्ग प्रमाण कार्य जयबागेश्वरीको शिवलिङ्ग पुगी पूजागर्ने चलन रहेकोछ । पूजा पछि गुठी संस्थानले सानो गौचरणमा व्रतालुहरुलाई भोजन गराउने चलन रहेकोछ र भोजनपछि पैदल फर्पिङ्ग शेषनारायणमा बास बस्न पुग्दछन् । माघ शुक्ल प्रतिपदाको दिन शेषनारायणमा सम्पूर्ण व्रतालुहरुले स्नान गरी नित्य पूजा अर्चना गरिसकेपछि फर्पिङ्ग नगरपरिक्रमा गरी पाटनको शंखमूल घाटमा आई माधव नारायणसंगै लहरै बसेर भोजन गर्ने परम्परा रहेकोछ । भोजन पश्चात सम्पूर्ण व्रतालुहरु सालीनदी पुग्ने गर्दछन् ।

फर्पिङ्गबाट सालीनदी पष्mर्किएको भोलिपल्ट द्घितिया भएमा एकदिन सालीनदीमै बास बस्न पाईन्छ भने तृतिया तिथी परेको खण्डमा पनौती गई चौथीको दिन सालीनदीमै बास बस्न आउनुपर्ने कथिन यात्रा तय गर्नुपर्ने हुन्छ । पनौती त्रिवेणी दोभानमा ब्रतपूजा सम्पन्न गरी नगर परिक्रमा गरीसकेपछि नाला जानेबाटोको भोखुसी छेउमा माधवनारायण संगै सम्पूर्ण व्रतालुहरुले भोजन गरी सांखुस्थित सालीनदी फिर्ने चलन रहेकोछ । श्रीपञ्चमी र ललासप्तमीका दिन सालीनदीमा धेरै भिडभाड हुने गर्दछ । माघ शुक्ल सप्तमीको दिनलाई सूर्य ग्रहण समानको दिन जतिकै महत्व दिएको कुरा पौराणिक ग्रन्थहरुमा रहेको पाईन्छ । उक्त दिन व्रतालुहरुले विशेष गरी राम्रा रातो पहिरण लगाई सांखु नगर परिक्रमा गर्ने गर्दछन् भने पुरुष व्रतालुहरुले एकजना गुल्टने र अर्कोले सहस्रधारा बोकी नगर परिक्रमा गर्नुपर्ने चलन रहेकोछ । भीमा एकादशीको दिन माधवनारायण(स्वस्थानी मातालाई) परदेश यात्राको अन्तिम स्थान चांगु नारायणस्थित सानदहमा लगिन्छ । भीमा एकादशीको दिन दुईपटक व्रत पूजा गरिने चलन रहेकोछ । व्रतपूजा सकिएपछि सांखु सालीनदीमा गई बास बस्ने चलन रहेकोछ । भीमा एकादशीको दुईदिन अघि सालीनदी तिरमा व्रतालुहरुलाई तस्मी खुवाईने पुरानो चलन समेत हालसम्म रहिआएकै छ ।

व्रतको अन्तिम दिन माधव नारायण भगवानलाई भीमसेनपाटी पछाडीको चौरमा रहेको गुफा राख्ने मन्दिर भित्र राखी इहि गर्ने, व्रतवन्ध गर्ने, हवन यज्ञ (अश्वमेघ यज्ञ ) गर्ने गरिन्छ । सम्पूर्ण व्रतालुहरुलाई चौरमा राखी एउटै धागोले बेरेर व्रतपूजा सम्पन्न गराइन्छ । अन्तिम दिनको पूजाको लागि १०८ प्रकारको फूल, रक्तचन्दन, अक्षता, बत्ती, धुप, पंचरङ्गी धागो, इता, जजंका, जाईको फूल, द्घाफ्वस्वां, वयर सतिवयर १०८ का दरले तयार गरि पूजापाठ गर्नुपर्दछ । व्रतालुहरु अघि माधवनारायणलाई विराजमान गराई अन्मि पटक दर्शन गरिसकेपछि आफ्नो मनोकामना पुरा गराउनको लागि, आफूले इच्छाएको वर प्राप्त गर्नाको लागि अश्वमेघ यज्ञ सामु बसी व्रतपूजा सकिसकेपछि आफ्नो घरका परिवारहरुलाई स्वस्थानीमा उल्लेख भएअनुसार फूल प्रसाद दिनुपर्दछ र भोलीपल्ट ज्योर्तीलिङ्गेश्वर दर्शन गरी यथासक्य दान पुरोहितलाई दिई चिभ्वय् (नूनीलो) खानेकुरा समावेश गरिएको भोज सालीनदी तिरमा बसी खानुपर्दछ । शिवरात्रीको दिन ज्योतीलिङ्गेश्वरमा जाग्राम वसी भोलीपल्ट विहानै वज्रयोगीनी दर्शन गर्नुपर्ने परम्परा रहीआएकोछ ।

सांखु सालीनदीमा स्वयम् विष्णु भगवानको नारायण अवतारको माधवनारायणको सुवर्ण मूर्तिलाई नै स्वस्थानी व्रत उपासना गराई तीर्थ भ्रमण र अश्वमेघ यज्ञ गरी व्रतपूजा गर्दछन् भने शिवरात्रीमा साधुश्मसान, ब्रम्हायणी पीठमा सर्पहोम, चराहोम, माछाहोम र छांगवली होम गरिने चलन रहेकोछ । अश्वमेघ यज्ञपछि प्रसाद स्वस्थानीमा उल्लेख भएअनुसार बांडीएपछि पुर्ण हुने चलन रहीआएको छ ।
स्वस्थानीको महिमा गाईएको पुस्तकहरु नेपाली, संस्कृत, हिन्दी र नेपाल भाषामा लिपीवद्घ गरी प्रकाशित गरिएता पनि हाल नेपाली भाषामा लेखिएको पुस्तक बढी विक्री हुने गरेकोछ । स्वस्थानी पुस्तक प्रकाशन करिब ५०० बर्ष पहिले देखि प्रकाशन गरिएको बुभिएकोछ । स्वस्थानी पुस्तकमा शिव पार्वती सम्वाद गरी व्रतहरुमा उत्तम व्रत राजवप्रत स्वस्थानी व्रत भनी लेखिएकोछ । स्वस्थानी पुस्तक भित्र कालान्तरमा शून्यदेखि सृष्टिकल्पसम्मका कुराहरु, देवासुर संग्राम, शिवसति विवाह, जालन्धर, कामदेव र रती, शिव सती विवह र विछोड, शक्तिपीठ उत्पत्तीका कथा, रामायण, महाभारत, शिवरात्री महिमा, धर्मराज, नवराज, शिवपार्वती विवाह, हिमालय पर्वत, डोलेहरु, शिवशर्मा र शिवभट्ट, सत्य, त्रेता, द्घापर युगका कथा, स्र्वग, मत्र्य र पातालमा स्वस्थानीको व्रत आदी विषयमा ३० अध्याय देखी साठी अभ्याय सम्मको कथा समेटीएका पुस्तकहरु बजारमा पाईन्छन् र तीनै पुस्तकहरु घरघरमा बाचन गरिन्छन् । स्वस्थानी व्रत शालीनदीमा बस्न नसकेपनि कथा वाचन र श्रवण गर्दा पुण्य मिल्ने , रोगव्याधी हट्ने जनविश्वास रहीआएकोछ । स्वस्थानीमा उल्लेख भएअनुसार स्वस्थानी माता चारहात भएकी चर्म, कमलको फूल समाएकी, सुवर्ण वर्णको रुप, ममतामयी, त्रिनेत्र भएकी, दयामयी, फलदिने, वरदिने, करुणामयी, भाग्यमानी, ज्वाजल्यमान, अष्टमातृका गणहरुले चारैतिरबाट बन्दना गरेका, मध्यभागमा बसेकी देवी भनी वर्णन गरिएकोछ ।

स्वस्थानी व्रत हिन्दु धर्माम्वलीहरुको मात्र होईन स्वस्थानी शेर्पा जातीहरुको समेत महत्वपूर्ण पर्व मान्नसकिन्छ । स्वस्थानी सांङगेको दिन शेर्पा, तामाङ्ग जातीका दर्शनार्थीहरु तामाङ्गसेलो गाउंदै नाच्दै भगवान शिवको आराधना गर्दै शालीनदीमा नुहाई धुवाई मेला भर्ने गर्दछन् । विविधतामा एकता भनेजस्तै हाम्रो धर्म संस्कृतिमा विविधता भएतापनि मनाउने क्रममा एकता रहेकोछ । सालीनदी पुग्नको लागि रत्नपार्क, कोटेश्वर र नयां वानेश्वरबाट सार्वजनिक यातायातको साधन पुग्नसकिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org