ताजा समाचार

गालीगलौज गरेर कूटनीतिक सम्बन्ध सुध्रिदैन : मन्त्री महत

चितवन, ७ माघ । परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले कूटनीतिक सम्बन्ध सडकमा उठाएर नहुने भन्दै दुई देशबीच टेबलमा बसेर सल्टाउनु पर्ने बताएका छन्।

शुक्रबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सडकमा गालीगलौज गरेर कूटनीतिक सम्बन्ध सुध्रिने होइन, बिग्रिने बताएका हुन्। उनले भने,’समर्थन र विरोध सडकमा गरेर कूटनीति चल्दैन।’

छिमेकी देश चीन र भारतसँग कुटनीतिक सम्बन्ध सुमधुर हुँदै गएको भन्दै उनले खुल्ला सीमा, डुबान समस्यालगायतका कारण भारतसँग जति समस्या छन् चीनसँग नरहेको बताए। जहाँ बढी समस्या छ, त्यहाँ बढी छलफल हुने भएकाले भारतसँग नजिकजस्तो देखिए पनि दुवै देशसँगको सम्बन्ध समदुरीको रहेको उनको भनाई थियो।

चीनतर्फको कोदारी नाका खोल्न चीन सरकार तयार रहेको भन्दै उनले केरुङलाई विस्तार गर्ने विषयमा पनि छलफल भइरहेको बताए। चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारीका लागि छलफल गर्न सचिवस्तरीय संयन्त्रलाई पत्र लेखिसकिएको पनि उनले बताए।

परराष्ट्रमन्त्री महतले गण्डक सम्झौता कार्यान्वयनका लागि दुई देशका बीचमा सहमति भइसकेको बताए। उनले माघ महिनाभित्र नेपाली पक्षले डिपिआर तयार गरी नहरको पुनःसंरचना निर्माण भारतीय पक्षले गर्ने सम्झौता भएको बताए। सो नहरबाट सम्झौताबमोजिम ४० हजार हेक्टर जमिन सिँचाई हुनुपर्नेमा २५ हजार हेक्टर मात्रै हुँदै आएको उनले बताए। 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org