ताजा समाचार

जनतालाई राज्यसँग जोड्न संघीयता ल्यायौ : पूर्व गृहमन्त्री वस्नेत

 

सुर्खेत ९ फागुन ।   नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले संघीयताले जनतालाई प्रत्यक्ष रुपमा राज्यसंग जोड्ने भएकोले संघीयता ल्याइएको बताएका छन् ।

संघीयताको मुद्दा माओवादीको ल्याएको भन्दै उनले संघीयताले जनतालाई घरदैलो मै राज्यको अनुभूति गराउने बताए ।

माओवादीको मुद्दा भएकोले केहीले संंघीयतालाई गलत प्रचार गरेको तर्फ संकेत गर्दै पूर्व गृहमन्त्री बस्नेतले संघीयता जनतालाई अधिकार सम्पन्न बनाउन र समृद्धिको मेरुदण्ड भएको बताए ।

‘‘संघीयता माओवादीको एजेण्डा हो, यसको कतै गलत प्रचार गरिएकोछ,’ उनले भने–‘हामीले ल्याएको संघीयताले जनतालाई राज्यसंघ जोड्छ, जनतालाई नजिकबाट राज्यको अनुभूति गराउँछ, यसका लागि संघीयतालाई कार्यान्वयन गर्ने हो ।’’
वीरेन्द्रनगरमा भएको प्रथम नगरसम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उनले अहिले संघीयता कार्यान्वयन भइहाले आफूहरुलाई समस्या पर्ने भएकोले केही राजनीतिक दलहरुले संंघीयताको गलत प्रचार गरेर कार्यान्वयनमा बाधा गर्न खोजेको बताए ।

माओवादी केन्द्र प्रदेश नं. ६ का इन्चार्ज समेत रहेका बस्नेतले एकतापछि माओवादी केन्द्र जुर्मुराइसकेको भन्दै माओवादी केन्द्रलाई स्थानीय तहको निर्वाचनमा जान डराउनुपर्ने अवस्था नरहेको बताए ।

उनले सरकारले तत्कालै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने समेत संकेत गरेकाछन् । मधेसी मोर्चाले संविधान संशोधन गरेर मात्रै चुनावको मिति घोषणा गर्ने तर्क गरेको प्रशंगमा उनले संशोधन गरेर मात्रै निर्वाचनको मिति घोषणा गर्नुपर्छ भन्ने तर्क उपयुक्त नभएको बताए ।

कार्यक्रममा प्रदेश नं. ६ का संयोजक मायाप्रसाद शर्माले माओवादी जनताको बफादार सिपाही भएको भन्दै जनबिरोधी दलहरुलाई पाखा लगाउनुपर्ने बताए । शर्माले एमालेले हरेक कुरालाई अतिरञ्जित गरेर भ्रम फैलाउने गरेको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले त्यसलाई रोक्न सक्नुपर्ने बताए ।

यस्तै काँग्रेसले पैसा बाँडेर जनतालाई प्रभावित बनाएर चुनाव जित्ने गरेका तथ्यहरु भएको भन्दै अब यी दुवै राजनीतिक दलहरुका गलत क्रियाकलापलाई रोकेर माओवादी केन्द्र पहिलो हुने बताए । ‘‘एमालेले ढाँटेर जित्छ, काँग्रेसले पैसा बाँडेर चुनाव जित्छ,’ उनले भने–‘माओवादी केन्द्रले यस्तो केही गर्नुपर्दछ, कहिल्यै गर्नुपनि हुन्न, सत्य कुरा जनतासामु लिएर जनतामा जागरण ल्याए हुन्छ ।’’

कार्यक्रममा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री सत्य पहाडिले माओवादीले ल्याएका एजेण्डाहरु स्थापित हुदै गएकोले एमाले, काँग्रेसले जनताका एजेण्डालाई रोक्ने प्रयास गरेको बताइन । संघीयता, समावेशी, समानुपातिक लगायत माओवादीका एजेण्डा भएको भन्दै उनले यसलाई नै अन्य दलले कार्यान्वयन गर्न नदिने खेलमा लागेको बताइन ।
कार्यक्रममा माओवादी केन्द्रका पोलिष्व्यूरो सदस्यहरु, राष्ट्रि सम्मेलन आयोजक समिति सदस्यहरु र सुर्खेत जिल्ला पार्टी नेतृत्व, विभिन्न जनवर्गिय संगठनका अध्यक्ष तथा प्रतिनिधीहरु र पार्टीका नगरका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यो पहिलो नगर सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ ।
यही फागुन २१ र २२ गते जिल्ला अधिवेशन हुने भएकोले माओवादी केन्द्रले वडा, गाउँ र नगर सम्मेलनहरु गरिरहेको छ । यस अघि करिब सबै वडाहरु र भेरीगंगाा नगरपालिका, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाको सम्मेलनले नयाँ नेतृत्व चयन गरिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org