ताजा समाचार

स्थानीय निर्वाचन मिति घोषणाले गाविस सचिव हर्षित

पोखरा, १३ फागुन । स्थानीय तह निर्वाचनको मिति घोषणा भएपछि कास्कीका अधिकाँश गाविस सचिव उत्साहित भएका छन् ।

झन्डै उन्नाइस वर्षपछि स्थानीय तहको निर्वाचन हुने भएपछि जनप्रतिनिधिको भूमिकासमेत निर्वाह गर्दै आउनुभएका गाविस सचिव अब आपूmहरुको जिम्मेवारीको बोझ हट्ने विश्वास लिएका छन् ।

विसं २०५४ मा स्थानीय निकायको निर्वाचन भएको र २०५९ मा म्याद सकिएपछि सबै स्थानीय निकाय जनप्रतिनिधिविहीन भएका थिए र ती निकायको जिम्मेवारी गाविस सचिवको काँधमा आइपरेको थियो ।

यही फागुन ९ गते बसेको मन्त्रिपरिषदको बैठकले आगामी वैशाख ३१ गतेका दिन स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि गाविस सचिवले अब आपूmहरुले बोक्दै आएको गरुङ्गो भारी बिसाउन थालेको भान भएको टिप्पणी गरेका छन् ।

पुरुन्चौर गाविसका सचिव हरिप्रसाद अधिकारीले स्थानीय तहको निर्वाचन सम्पन्न भई जनप्रतिनिधि निर्वाचित भएर आएमा गाविस सचिवको कार्यबोझ घट्ने विश्वास व्यक्त गर्नुहुन्छ ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि कामको जिम्मेवारी बाँडिन्छ, उहाँले भन्नुभयो – जनप्रतिनिधि आइसकेपछि गाविस सचिवले तोकेको जिम्मेवारीलाई सहज ढङ्गबाट अगाडी बढाउन सकिन्छ ।

कालिका गाविस सचिव शोभाखर ढकालले जनप्रतिनिधि निर्वाचित भएर आएपछि स्थानीय जनताले बढी सेवा सुविधा पाउन सक्ने बताउँदै जनप्रतिनिधि नभएको अवस्थामा सचिवले पनि जनतालाई सक्दो सेवा त पु¥याएकै थियो तर जनप्रतिनिधि र निजामती कर्मचारीले दिने सेवा सुविधामा फरक पर्छ भन्नुभयो ।

उहाँले जतिसक्दो छिटो स्थानीय तहको निर्वाचन हुनुपर्ने माग गाविस सचिवको रहेको छ भन्नुभयो ।

ल्वाङघलेल गाविसका सचिव टीकाराम आचार्यले दुई दशकसम्म स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा जति विकास हुनुपर्ने हो, त्यो हुन नसकेको बताउँदै जनप्रतिनिधिको अभावमा विकासका लागि आवश्यक पर्ने स्रोत र साधन जुटाउन गाविस सचिवलाई गाहे भइरहेको धारणा व्यक्त गर्नुभयो ।

धम्पुस गाविसका सचिव विष्णुप्रसाद अधिकारीले पनि जतिसक्दो छिटो स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधि आउँदा राम्रो हुने विचार व्यक्त गर्नुभयो ।

जिल्ला निर्वाचन कार्यालय कास्कीले सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेपछि यसका लागि आवश्यक तैयारीलाई तीव्र पारेको छ । निर्वाचनलाई नै मध्यनजर गरी कार्यालयले गत पुस १० गतेदेखि माघ १५ गतेसम्म फोटोसहितको नयाँ मतदाता नामावली सङ्कलन कार्य सम्पन्न गरेको छ ।

कार्यालयले जिल्लाका दुई नगरपालिका र ३२ गाविसमा ६ वटा मतदाता नामावली सङ्कलन टोली खटाएर चार हजार ३८३ जना थप मतदाताको नाम सङ्कलन गरेको कार्यालयका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिनुभयो ।

तीमध्ये दुई हजार ३१९ पुरुष र दुई हजार ६६ महिला छन् । मृत्यु भएका, दोहोरो नाम भएका, त्रुटी सच्चाउने र बसाइँसराइ भएका मतदाताको अद्यावधिक गर्ने काम पनि सुरु गरेको कार्यालयले जनाएको छ ।

स्थानीय तह निर्वाचन प्रयोजनका लागि जिल्लाका राजनीतिक दललाई निर्वाचन कार्यालयमा दर्ता गराउन गरेको आह्वानअनुसार जिल्लामा २३ वटा राजनीतिक दलले नाम दर्ता गराएका छन् ।

स्थानीय तह पुनःसंरचना आयोगले पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका समेटेर पोखरा महानगरपालिका बनाउन तथा ३२ वटा गाविसलाई मिलाएर रुपा, मादी, माछापुच्छ«े र अन्नपूर्ण गाउँपालिका बनाउन सिफारिस गरिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org