ताजा समाचार

प्रभु इन्स्योरेन्सको नयाँ शाखा न्यूरोडमा,महिला कर्मचारीले मात्र सेवा दिने

काठमाडौं । प्रभु इन्स्योरेन्सले काठमाडौँमा ‘न्यू कन्सेप्ट’ सहितको नयाँ शाखा विस्तार गरेको छ । सो शाखामा सबै महिला स्टाफहरुमात्रै हुनेछन् ।

तत्कालका लागि सो शाखामा पाँच जना महिला कर्मचारी रहनेछन् । महिलाहरुका लागि पनि विशेष अवसर सृजना गर्ने उद्देश्यले महिलामात्रै कर्मचारी रहने गरी काठमाडौँको न्यूरोडमा नयाँ शाखा खोलिएको प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले बताए ।

प्रभु इन्स्योरेन्सले यो बिलकुल नयाँ अवधारणासहितको शाखा विस्तार गरेको हो । हालसम्म बैंकिङ क्षेत्रमा कुनै पनि यस्तो कार्यालय छैन, जहाँ हाकिमदेखि पियनसम्म महिला कर्मचारीमात्रै छन् ।
न्यूरोड, खिचापोखरीमा खुलेको काठमाडौँका लागि पहिलो तथा समग्रमा २० औँ शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चीरञ्जीवी चापागाईले गरे ।

नयाँ शाखाको उद्घाटन गर्दै समिति अध्यक्ष चापागाईले प्रभु इन्स्योरेन्सले बढीभन्दा बढी नागरिकमा बीमा सेवा पुर्याउन सकोस् भनी शुभकामना व्यक्त गरे । बीमा क्षेत्रमा देखिएका चुनौतिहरु सबैले मिलेर सामना गर्नुपर्नेमा जोड दिँदै उनले बीमा समिति, सम्बन्धित कम्पनी तथा सरोकारवाला सबै मिलेमात्र बीमामा बढीभन्दा बढी नागरिकलाई बीममा सहभागी गराउन सकिने बताए ।

प्रभु इन्स्योरेन्सका सीईओ बज्राचार्यले केही वर्षअघिको तुलनामा अहिले बीमा गर्ने मानिसहरुको संख्या बढेपनि प्रतिशतमा बढ्न नसकेको बताए । अझै पनि ५÷७ प्रतिशत नागरिकमात्रै बीमाको पहुँचमा हुनु विडम्बनाको विषय भन्दै उनले प्राथमिक शिक्षाको पाठ्यक्रममै बीमालाई समेटिनुपर्नेमा जोड दिए ।

पछिल्लो समय काठमाडौँस्थित तीनकुनेमा रहेको केन्द्रीय कार्यालयमा चाप बढेपछि कम्पनीले व्यापारिक केन्द्र न्युरोडमा नयाँ शाखा विस्तार गरेको हो ।

प्रभु इन्स्योरेन्स नेपालको अब्बल र बलियो इन्स्योरेन्स कम्पनीका रुपमा परिचित छ । हाल यस कम्पनीको चुक्ता पुँजी ३८ करोड ५० लाख रुपैयाँ छ । केही समयपछि २ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने कम्पनीको तयारी छ । त्यसपछि कम्पनीको चुक्ता पुँजी ५७ करोड रुपैयाँ नाघ्ने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org