ताजा समाचार

चीर ठड्याएपछि आजदेखि होली पर्व सुरू

काठमाडौं, २२ फागुन । रंगहरुको पर्व होली सुरु भएको छ। काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा आइतबार बिहान चीर ठड्याएर होली पर्व शुभारम्भ गरिएको हो।
बिहान ८ बजेर १५ मिनेटको शुभसाईतमा सप्तरंगी चीर ठड्याइएको हो। त्यस अवसरमा नेपाली सेनाको गुर्जू पल्टनले हर्ष बढाई समेत गरेको थियो। प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी कपडाका टुक्रा झुण्ड्याइएको बाँसको तीन तले चीर ठड्याएपछि मुलुकभर होलीको माहोल सुरु भएको मानिन्छ।

होलीको अवसरमा सरकारले सार्वजनिक विदा पनि दिने गरेको छ। फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म ८ दिन होली पर्व मनाउने गरिन्छ ।

भगवान विष्णुका भक्त प्रल्हादलाई मार्न प्रयास गर्ने होलिकाको मृत्यु भएको खुशीयालीमा अबिर लगाएर होली खेल्ने चलन सुरु भएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

बदलिँदो परिस्थिति अनुसार होली खेल्ने तौरतरिकामा भने हेरबदल हुँदै आएको छ । होलीमा जथाभावी रंग दल्ने, लोला हान्ने काम हुन नदिन स्थानीय प्रशासनले पनि कडा निगरानी राख्दै आएको छ ।

फागुन शुक्ल पूर्णिमाको रातमा होलिकाको प्रतिक चीर टुंडिखेलमा लगेर दोहन गरेपछि होली पर्व सकिने मान्यता रहि आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org