ताजा समाचार

म्याद सकिन एक साता बाँकीछँदा स्थानीय तह पुनर्संरचना आयोगका सदस्यद्वारा राजीनामा

 

काठमाडौं । म्याद सकिन एक साता बाँकीछँदा स्थानीय तह पुनर्संरचना आयोगका एक सदस्यले राजीनामा दिएका छन्।

सरकारले आयोगको कार्यक्षेत्र मिचेर निर्णय गरेको भन्दै आयोग सदस्य अधिवक्ता सुनिल रञ्जन सिंहले सोमबार राजीनामा दिएका हुन्।
गत वर्ष चैत १ गते गठन भएको आयोगको म्याद यही फागुन मसान्तमा समाप्त हुने छ। मधेस र थरूहटमा जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण गर्न नसकिएको, सरकारले प्रतिवेदन सार्वजनिक नगर्दा विशेष, स्वायत्त र संरक्षित क्षेत्रको संख्या र सीमा निर्धारण गर्न अप्ठ्यारो भएको तथा सरकारले संख्या बढाउने निर्णय गरेर आयोगको क्षेत्राधिकार मिचेकाले राजीनामा दिएको उनले बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष सोमबार पेश गरेको राजीनामापत्रमा उनले सरकारले आयोगको कार्यक्षेत्रमा हस्तक्षेप गरेपछि आयोगको सदस्यका रूपमा बसिरहनु वान्छनीय नभएको उल्लेख गरेका छन्। बालानन्द पौडेल अध्यक्ष रहेको आयोगले पुस २२ गते नै ७१९ स्थानीय तहको संख्या र सीमा निर्धारण गरी सरकारलाई बुझाएको थियो। करिब दुई महिनापछि आइतबार बसेको मन्त्रिपरिषद बैठकले २५ वटा स्थानीय तह थप्दै ७४४ बनाउने निर्णय गरेको थियो। साथै, प्रतिवेदन सार्वजनिक नभएपछि आयोगले संरक्षित र स्वायत्त क्षेत्र समेत निर्धारण गर्न सकेको छैन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org