ताजा समाचार

कविता : यो देशको गरिबी

घिनलाग्दो हुन्छ गरिबी । भखैर किनेको मोजा लगाएर
थोत्रो जुत्ताभित्र खुट्टो घुसारेझैँ
भर्खर डिग्री सकेर रुपमतीले
बूढो हाकिमको प्यासी दोकानमा जागिर खाएझैँ
घिनलाग्दो छ गरिबी ।

भिषा लागेपछि
यो देशको माटो
रुँदै रुँदै बाहिरिएको
हरियो पासपोटको आँसुले राष्ट्रिय झण्डा भिजेको
निकै संवेदनशील छ गरिबी । 

अपाङ्ग बाबु
बाँच्नुको उदेश्य बोकेर
ग्राहक खोजीरहेको भेटिन्छ
बैँसालु चोकहरुमा
आफ्नै छोरीको मूल्य सूची घोकेर
साँच्चै क्रूर छ
मुटु दुख्ने गरीबी ।

१२/१३ वर्षकी बालिका
ओठमा भद्दा लिपिष्टिक दलेर
कुरिरहिकी हुन्छे तिर्खालु समय
ग्राहकको प्रतीक्षामा
सोच्नै नसकिने भयानक छ गरिबी ।

जबरजस्ता बोलाइएको जवानीमा
तिर्खाले पशुवत् बुर्कुसि मार्दा
कति दुख्दो हो
स्वास फेर्दा फेर्दै मुर्दा हुनुपर्दा
कठै ! कस्तो दर्दनाक छ गरिबी ।

भोक र प्यासले लखेटेर
दौडिन्छ बालक जुनेलीरातमा
कलाकारको बस्तितिर
ग्वाम्म हामफाल्छ
र, जिन्दगीभर पुग्ने गरी खान्छ
रोटी र पानी
जुून इनारमा पाकिरहेको थियो ।

छि ! यस्तै यस्तै छ
सोच्नै नसकिने घिनलाग्दो
यो देशका गरिबी ।

 

(लेखक नेपाल कथाकार पनि  हुन् । उनको ‘रित्तो आकाश’ कथासंग्रह प्रकाशित भएको छ ।)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org