ताजा समाचार

मानार्थ महारथीको सम्मान ग्रहण गर्न भारतीय स्थल सेनाध्यक्ष काठमाडौंमा

 

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष विपिन रावत मंगलबार नेपाल आएका छन् । नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्न उनी नेपाल आएका हुन् ।

नेपाल र भारतका सेना प्रमुखलाई दुबै देशले मानार्थ महारथीको सम्मान प्रदान गर्ने प्रचलन रहिआएको छ । भारतीय सेनाध्यक्ष रावतलाई बुधबार शीतल निवासमा विशेष समारोह आयोजना गरी नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतले जानकारी दिए ।

नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले रावतलाई मानार्थ महारथीको सम्मान प्रदान गर्नेछिन् । नेपाल बसाइको क्रममा रावतले प्रधानमन्त्री, रक्षामन्त्री, प्रधानसेनापतिलगायतलाई भेट्ने कार्यक्रम छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा नेपाल आएका रावतले पोखरास्थित भारतीय सैनिक पेन्सन क्याम्प, मुस्ताङको मुक्तिनाथ र काठमाडौंको पशुपतिनाथको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org