शहिद परिवारको रकम मधेशी मोर्चाका नेताले खाइदिए !
सिरहा । बिहे गरेको नौ वर्ष नपुग्दै पति गुमाएकी उनलाई एक्लै चार सन्तान हुर्काउने भार पर्यो रामपरीदेवीलाई । उनले हुर्किसकेकी छोरी बिभाको जसोतसो गत फागुन २२ गते विवाह गरिदिइन्। अहिले बिहेको ऋणले थलिएकी छन्। अरू दुई छोरी र एक छोरालाई पढाउने खर्च जुटाउने पिरलो पनि छँदैछ।
सहिद परिवारलाई सरकारले दिएको १० लाख रुपैयाँबाट सहिदको प्रतिमा बनाउने भन्दै मधेसवादी नेताले एक लाख सापट लिएका थिए तर अहिलेसम्म फर्काएका छैनन्।
रामपरीको जीवनमा त्यति बेला बज्रपात भयो जब पति बेचन यादवको पहिलो मधेस आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागी ज्यान गयो। लहान बजारमा घरको सामान खरिद गर्न आएका बेचनको २०६३ माघ ७ गते सुरक्षाकर्मीको गोलीले ज्यान गएको थियो। त्यस बेला छोरा आनन्द ६ महिनाका मात्रै थिए। छोरी शोभा सात वर्ष, बिभा चार वर्ष र मनतोरिया दुई वर्षका थिए।
घरका मियो बेचनको निधनले रामपरी धेरै दिनसम्म ओछ्यान परिन् तर लालाबाला हुर्काउने जिम्मेबारी सम्झेर मन थामिन्।
सरकारले मधेस आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा गरी १० लाख क्षतिपूर्ति उपलब्ध गरायो। तर, रामपरीको हातमा नौ लाख मात्र पर्यो। एक लाख रुपैयाँ मधेसी मोर्चाका स्थानीय नेताले सापटी भनेर लिए। ‘यो रकम पछि फिर्ता गर्ने सर्तमा सहिदको प्रतिमा स्थापित गर्न भनेर उनले लिएका थिए। तर, अहिलेसम्म सहिद परिवारले फिर्ता पाएको छैन।
नौ लाख लिन जिल्ला प्रशासन र गाउँ विकास समितिमा कागजी प्रमाण जुटाउन दौडधुप गर्दा ५० हजार खर्च भयो। बाँकी आठ लाख ५० हजारबाट गाउँमै खेत जोडेकी रामपरी भन्छिन्, ‘१० कट्ठा जमिनको उत्पादनले गुजारा चलाउन धौधौ छ।’
फागनु २२ गत्ते रामपरीले छोरी बिभाको बिहे गर्दा कुनै मधेसी नेता उपस्थित भइदिएनन्। बिहेको जोरजाममा पनि कसैले सहयोग गरेनन्। ‘सहिद परिवारको दुःखमा मलम लगाउने त परको कुरा, सोधीखोजी गर्न समेत कोही आउँदैनन्’, उनले भनिन्।
सहिदको सम्मानमा प्रत्येक वर्ष माघ ५ गते लहानमा मनाइने बलिदानी दिवसमा समेत पछिल्लो दुई वर्षयता आफूलाई सोधखोज गर्न छाडिएको रामपरीको गुनासो छ। ‘हामी आफैं त्यो दिन सहिद पार्कमा पुगेर आँसुको भारी बिसाएर घर फर्किन्छौं’, आँखाभरि आँसु बनाउँदै उनले भनिन्, ‘आँसु पुछिदिनेसमेत कोही हुन्नन्।’
त्यति बेला सहिदका सन्तानलाई पठनपाठन निःशुल्क हुन्छ भनिएको थियो। तर, मासिक ४ हजार ५ सय रुपैयाँ खर्चेर छोरा पढाउनुपरेको उनी बताउँछिन्। उनका छोरा आनन्द यादव लहानस्थित रेन्बो बोर्डिङ स्कुलमा होस्टेल बसेर पढ्दै छन्। दुई छोरीलाई सामुदायिक विद्यालयमा पढाउँदैछिन्। निःशुल्क पठनपाठनको व्यवस्था भइदिए छोरीहरूलाई पनि गुणस्तरीय शिक्षा पढाउने उनको धोको छ।
पाँच वर्ष भयो उनी कार्यालय सहयोगीको रुपमा लहानस्थित भूमिगत सिँचाइ डिभिजन कार्यालयमा काम गर्न थालेको। ‘करारको जागिर, कति बेला हट्नुपर्ने थाहा छैन’, उनी भन्छिन्, ‘यो जागिर स्थायी भइदिए राहत पुग्थ्यो।’ उनले थपिन्, ‘पतिको बलिदानीको सिँढी चढेर धेरै अनुहार चर्चित नेता भए, कति मन्त्री भए तर हाम्रो दुःखमा मलम लगाउने कोही भइदिएनन्।’
पहिलो मधेस आन्दोलनको उद्गम स्थल लहानमा त्यस बेला मृत्युवरण गरेका बेचनको परिवार मात्र होइन, रमेश महतो, अनिस राई, प्रमोद सदाय र विजय सहनी परिवारको पनि उस्तै बेहाल छ। नागरिक दैनिकबाट
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...