ताजा समाचार

मेसी बिनाको मैदानमा उत्रिएको बार्सिलोनाद्वारा ग्रानडामाथि गोलको वर्षा

एजेन्सी । लिओनल मेसीविना मैदानमा उत्रिएको वार्सिलोनाले ग्रानडाविरुद्ध लुइस सुआरेज र नेइमारको गोलमा रियल म्याड्रिडसँगको अग्रतालाई २ अंकमा छोट्याउन सफल भएको छ। आइतबार राति म्याड्रिडले ३–० ले अलाभेसलाई पराजित गर्दै बार्सिलोनासँगको अग्रतालाई ५ अंकमा पुर्‍याएको थियो। तर, त्यसको केही घण्टा पछि ग्रानडाको मैदानमा उत्रिएको बार्सिलोनाले मेसीको अनुपस्थितिमा ४–१ को जित सम्भव पार्‍यो। बार्सिलोनालाई ४४ मिनेटमा सुआरेजले अग्रता दिलाएका थिए। तर, त्यो अग्रता लामो समय टिकेन। चेल्सीबाट ऋण सम्झौतामा ग्रानडा पुगेका फ्रेन्च मिडफिल्डर जेरेमी बोगीले ५० मिनेटमा गोल फर्काउदै दोस्रो हाफको ५ मिनेटपछि नै खेललाई बराबरीमा ल्याएका थिए। यसको १४ मिनेटपछि पाको अल्कासरले पुनः बार्सिलोनालाई अग्रता दिलाए।

उनले ६४ मिनेटमा गोल गरेका थिए। ग्रानडाले ८२ मिनेटमा दोस्रो पहेँलो कार्डका कारण उचे आग्बोलाई गुमाएको थियो। यसपछि आक्रामक बनेको बार्सिलोनाले ९ मिनेटभित्र दुई गोल थप्यो। बार्सिलोनाका लागि ८४ मिनेटमा इभान राकिटिक र ९१ मिनेटमा नेइमारले गोल गरे। नेइमारको लिगमा नवौं गोल थियो। हाल २८ खेल खेलेको म्याड्रिड ६८ अंकका साथ शीर्ष स्थानमा छ। एक खेल बढी खेलेको बार्सिलोनाको ६६ अंक छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org