ताजा समाचार

पार्टी एकिकरणको अर्थ

नेपालको संविधान २०७२ मा उल्लेख भए अनुसार आगामी माघ ७ गतेभित्र तीन तह (स्थानीय तह, प्रदेश र केन्द्रीय संसद) को निर्वाचन गरीसक्नु पर्ने व्यवस्था छ । त्यही क्रमको पहिलो चरण अन्तर्गत आगामी बैशाख ३१ गतेका लागि सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको अवस्था हो । र, त्यसको तयारी भइरहेको अवस्था पनि हो । चाहे मध्यावधी निर्वाचन होस्, चाहे संविधानसभाको, चाहे संसदको होस् चाहे स्थानीय तहको राजनीतिक दलहरू जुट्ने र फुट्ने क्रम चलिरहन्छ । जब चुनावको किनारा लाग्छ र सरकार निर्माण प्रक्रियाको सुरुवात हुन्छ अनि फेरी भाग नपाउनेहरू पार्टी फुटाउन उद्यत् रहन्छन् । यो क्रमिक प्रकृया हो । र, नेपालको राजनीतिमा यो कुरा सामान्य पनि भइसक्यो ।

पछिल्लो समय निर्वाचनमा न्यूनतम थे्रसहोल्डको व्यवस्था गरेपछि साना दलहरू एकीकरण हुन थालेका छन् । जस अन्तर्गत भर्खरैमात्र तीन साना दल (विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक, शिवलाल थापा नेतृत्वको जनमुक्ति पार्टी र यशोदा लामा नेतृत्वको दलित जनजाति पार्टी) बीच एकीरण भएको छ । त्यसैगरी आगामी स्थानीय तहको निर्वाचन अगावै धेरै साना दलहरू एउटै बन्धनमा बाँधिन लागेका खबरहरू सञ्चार माध्यमहरूमा आइहेका छन् । विशेषतः तराईमा क्षेत्रीय हिस्सा ओगटेर बसेका राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम गणतान्त्रीक, महेन्द्र राय यादव नेतृत्वको सद्भावना पार्टी र सरदसिंह भण्डारी नेतृत्वको तराई मधेश समाजबादी पार्टी छिट्टै एकीकरण हुने भन्ने खबर आइरहँदा यता उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजबादी फोरम र डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्ति नेपाल पार्टीबीच पनि एकताको प्रकृया अन्तिम चरणमा पुगेको कुरा सार्वजानिक भइरहेको छ । पार्टी एकता हुनु र गर्नुमा धेरै कारण हुन सक्छन् । ती कारणहरू सबै पार्टी एकीकरणमा समान नहुन पनि सक्छन् ।

सबै पार्टीको सबै ठाउँमा उस्तै पकड भएको हुँदैन । जसले गर्दा कुनै क्षेत्रमा कुनै पार्टीले विजय हाँसिल गर्छ भने कुनै क्षेत्रमा कुनैले । यही असमानताको दुरीलाई कम गर्नको लागि निर्वाचनका बेला पार्टी एकताको लहर नै चल्छ । यसैको कडिका रूपमा लिन सकिन्छ भट्टराई र यादवका बीचमा हुन लागेको गठजोड । बिशेषगरी तराईमा क्षेत्रीय दलकैरूपमा रहेको संघीय समाजवादी फोरमले आगामी स्थानीय तहको निर्वाचनमा भाग लिनको लागि साठी भन्दा बढी जिल्लामा आफ्नो  दल दर्ता गरिसकेको अवस्थामा अब बिस्तारै यो दलले राष्ट्रिय दलको मान्यता पाउनेतर्फ उन्मुख रहेको देखिन्छ । यता राष्ट्रिय दल नै भएता पनि तराईमा खासै राम्रो पकड नभएको नयाँ शक्तिलाई पनि उक्त दलसँग एकीकरण भएमा तराईतिर आफ्नो   आधार बलियो बनाउन सहज हुनेछ ।

दुबै पार्टीलाई दुवै क्षेत्रमा आ–आफ्नो  अस्तित्व जोगाउन र फैलाउन पक्कै पनि सहज हुनेछ यसै कुरालाई मध्य नजर गर्दै चौतर्फी बिरोधका बाबजुत पनि बाबुराम भट्ट।राईले यादवको पार्टीसँग एकीकरण गर्न लागेको हुन सक्छन् । यद्यपी उपेन्द्र यादबसँग पार्टी एकीकरण भएमा माओवार्दी पार्टी छोड्दा जतिले बाबुरामलाई गाली गरेका थिए । त्यो भन्दा बढीले उनलाई सराप्नेछन् र उनको बिरोधमै सामाजिक सञ्जाल, पत्रपत्रिकाका टिकाटिप्पणी वा अन्य माध्ययमबाट उनको खोइरो काडिने छ । यो कुराको जानकार उनी स्वयं पनि होलान् नै, तै पनि एकएक व्यक्ति गरेर तराईमा पार्टी बिस्तार गर्नु भन्दा एउटा सिङ्गो पार्टीलाई नै आफैँ भित्र समाबेश गराउँदा त्यसले छिटो नतिजा देखाउन सक्छ । सँधैभरको इगोले राजनीति चल्दैन नै, यदि इगो लिएरै बसेको भए अहिले कुनै पनि दल कुनै पनि दलसँग सहकार्य गर्नसक्ने अवस्थामा हुँदैनथे ।

राज्यमा कुनैपनि एक दलले स्पष्ट बहुमत प्राप्त नगरेसम्म वा राष्ट्रपति शासन नआसम्म दलीय लेनदेनको आवश्यकता परि नै रहन्छ । तर, राजनीतिक गठबन्धन कहिलो कोसँग हुन पुग्छ र कहिले कोसँग । यो कुरा स्वयं राजनीतिज्ञलाई पनि थाहा हुँदैन र त्यो भविष्यबाणी गरेर मिल्ने कुरा पनि होइन कहिले काँही कसैको अड्कल मिल्नु बेग्लै कुरा हो ।

राजनीतिक फाँटमा डा.भट्टराई त्यस्तो नाम हो जुन नाम धेरैले उनले गरेका राम्रो काम देखाउनको लागि भन्दा नराम्रो काम देखाउनका लागि लिने गर्छन् । अरु धेरै पार्टीहरूकाबीच एकीकरण भइसके र केही एकीकरणकै क्रममा रहेका छन् । त्यही एकीकरणको प्रकृयामा रहेको एउटा पार्टी भट्टराई नेतृत्वको नयाँ शीक्त नेपाल पनि हो । ति धेरै पार्टीको एकीकरणको लहर चलिरहेता पनि यतिबेला राजनीतिको बारीमा फेरि बाबुरामको नाममा एउटा एकताको बिरुवा रोपिन लागेको कुराले सर्बत्र चर्चा पाएको छ । खास गरी कुनै पनि काममा बढी जिम्मेवारी बोध गरेको मान्छेले उक्त कामको जस भन्दा अपजसकै सामना खेपिरहनुपर्ने नियती छँदै छ ।

संविधान निर्माण प्रक्रियामा त्यसको मुख्य जिम्मेवारी पाएको हुनाले सक्रियताका साथ लागि परेका थिए भट्टराई, त्यसैले पनि संविधान निर्माण प्रक्रिायादेखि नै असन्तुष्ट रहँदै आएका मधेशी दलहरूका मागप्रति उनी कहिल्यै नकारात्मक देखिएनन् । बरु केही समय ढीला गरेरै भएपनि संविधान घोषणा गर्नु अघि नै आन्दोलनरत सबैको मागलाई समेटेर संविधान जारी गर्नुपर्छ भनिरहे । त्यसैका आधारमा उनलाई धरैले संविधान विरोधी, भारतीय दलाल र मधेसीलाई काँधमा बोकेर हिँडेको भन्ने जस्ता आरोप लगाईरहे जसको कारणले गर्दा आन्दोलनरत पक्षको माग संविधानमा समेट्न उनी एक्लैको केही तागत चलेन र संविधान घोषणा भयो । अन्ततः त्यही असन्तुटहरूको असन्तुष्टिले अहिलेसम्म निरन्तरता पाइरह्यो । यस्तै समस्याको बाबजुद पनि देश स्थानीय तहको निर्वाचनमा होमिइसकेको छ ।
यादव र भट्टराईकाबीचमा पार्टी एकताको कुरा चलेको धेरै भयो । तर, नयाँ शक्ति कुनै पनि पार्टीमा मिसिनु हुँदैन भन्ने उसका अनुयायीहरूको चौतर्फी बिरोध र अन्य विभिन्न कारणले गर्दा एकीकरण हुन सकेको थिएन । यस भन्दा अगाडि पार्टी एकता हुन नसक्नुमा बाबुरामका पछाडीका बिभिन्न शक्तिको भूमिका हुन सक्थे किनकी उनको पार्टीको नाम र साङ्गठनिक प्रकृया पटक्कै मिलेको छैन । पार्टीको नाम नयाँ शक्ति राख्ने तर पुरानै व्यक्तिलाई पार्टीमा भित्र्याउने र पुरानै पार्टीसँग एकता गर्ने भनेर त्यसको चौतर्फी बिरोध भएकै कारण पार्टी एकतामा ढिलाई भएको हुन सक्छ । अझैपनि उपेन्द्र यादवसँग पार्टी एकता हुने कुराको धेरैले बिरोध गरिहेका छन् । तर, पार्टी एकताको भित्री रहस्य अर्कै हुन सक्छ ।

विषेश गरी तराईबाट उदाएका जे जति दल छन् । ती सबै क्षेत्रीय रूपमा मात्रै सीमित छन् उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम पनि क्षेत्रीय दल नै हो । तर, यहाँसम्म आइपुग्दा तराईका अन्य दलको तुलनामा यो दलले सबैभन्दा धेरै जिल्लामा पार्टी दर्ता गारइसकेको हुनाले अब करिब–करिब राष्ट्रिय हिस्सा लिने लक्षण देखिएको छ । यसैका आधारमा पनि सेलाइसकेको एकीकरणको चर्चा फेरी शुरु भएको हुन सक्छ । मधेशवादी दललाई पहाड र हिमालमा आप्mनो सङ्गठन बिस्तार गर्न धौधौ र राष्ट्रि«य भनिने अन्य दलहरूलाई तराईमा आप्mनो सङ्गठन बलियो पार्न कठिन परिरहेका बेला हुने यस्तो एकताले दुबै थरीलाई हित गर्न सक्ने देखिन्छ । र, यो कतिपय दलका लागि आवश्यकता पनि हो त्यस्तै आवश्यकता भित्र पर्ने दल नयाँ शक्ति नेपाल पनि हुन सक्छ ।

विशेषगरी व्युरोक्रेसी र कलाकारीताको क्षेत्रबाट आएका व्यक्तिहरूले बनेको नयाँ शक्ति पार्टीको संगठन बिस्तारै बिग्रन थालेपछि राजनीतिक क्षेत्रबाटै आएका व्यक्तिहरूको खाँचो यस दलले महशुस गरेको हुनुपर्छ त्यसकै कारण आफ्ना पूर्व सहपाठी र सँगै युद्ध लडेर आएको व्यक्ति पनि भएको तथा आफुसँग धेरै उठबस गरिसकेका नेता भएकाले बाबुराम भट्टराईले अरु भन्दा उपेन्द्र यादवसँग पार्टी एकीकराण गर्नु सहज र सान्दर्भीक ठानेको देखिन्छ ।

निष्कर्षमा के भन्न सकिन्छ भने हरेक पटक सरकार बदलिँदा गठबन्धन पनि बदलिन्छ । र, जुन दल सरकार बाहिर बस्छ प्रायः त्यही दल मधेस बिरोधी भइदिन्छ । तर, बाबुरामले अहिलेसम्म मधेस बिरोधी अभिव्यक्ति दिएका छैनन् जसरी सत्ता बाहिर बस्दा अन्य दलले मधेसका बिरुद्ध अनेक लाञ्छना लगाउँछन् । संयोग कस्तो प¥यो भने बाबुराम प्रधानमन्त्री हुँदा पनि अधिकांश सत्ता सहयात्री मधेशवादी दल नै थिए । हिमाल, पहाड र तराई सबैलाई समान बनाएर अगाडि बढ्ने र आप्mनो पार्टीलाई तराईमा अझै मझबुत बनाउनको लागि बाबुरामले एकीकरण गर्न लागेका हुन् । अब छिटै हुन लागेको यो एकता आगामी तीन तहको चुनावी प्रकृयासम्म कायम रहला त्यसपछि पुनः फुटको लहर चल्न नसक्ला भन्न सकिन्न ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org