ताजा समाचार

राष्ट्रपतिद्वारा भूकम्पले भत्काएको सम्पदाको अवलोकन

भक्तपुर, १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विश्वसम्पदा सूचीमा रहेको दरबार स्क्वायर क्षेत्रका सम्पदाको अवलोकन गर्नुभएको छ ।
गोरखा भूकम्प गएको दुई वर्ष पुगेको दिन आज उहाँले भूकम्पले भत्काएका सम्पदा र पुनःनिर्माणको अवस्थाबारेमा जानकारी लिनुभएको हो । उहाँले यहाँ पुनःनिर्माण भइरहेको दरबार स्क्वायर ढोका, रामेश्वर, बद्री, केदार, वत्सला मन्दिरलगायत दरबार क्षेत्र परिसरभित्र भूकम्पले भत्काएका मन्दिर, लामोपाटी सत्तल, राष्ट्रिय कला सङ्ग्रहालय, पशुपति मन्दिरलगायत सम्पदाको अवलोकन गर्नुभएको हो ।

उहाँले अवलोकनसँगै भूकम्पले भत्काएका सम्पदाको पुनःनिर्माणका क्रममा परम्परागत रुपमा रहेका मौलिक संस्कृतिको संरक्षण हुनेगरी काम गर्नुपर्ने बताउनुभयो । स्थानीय स्रोत साधन र जनशक्तिको प्रयोग हुनुपर्नेमा जोड दिँदै उहाँले पुनःनिर्माणलाई तीव्रता दिनुपर्ने बताउनुभएको थियो । उहाँले पुनःनिर्माणका लागि काठ अभाव भए नभएबारेमा समेत जिज्ञासा राख्नुभएको थियो ।
राष्ट्रपति भण्डारीलाई प्रजिअ द्रोण पोखरेल, स्थानीय समन्वय समितिका अधिकारी धुव्रबहादुर कोइराला, भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत रोहितराज पोखरेल, पर्यटन शाखा प्रमुख गौतम लासिवा, पुरातत्व तथा दरबार हेरचाह कार्यालयका टोलीलगायतले स्वागत गर्दै सम्पदाको भूकम्पपछिको अवस्था र पुनःनिर्माणबारे जानकारी गराउनुभएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org