ताजा समाचार

गोरखामा शहीद लखन गाउँपालिकाको प्रमुखमा माओवादी विजयी


गोरखा, ४ जेठ । गोरखाको शहदि लखन गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । जिल्लाको दुई गाउँपालिकाको नतिजा सार्वजनिक भएसँगै माओवादी केन्द्र लखन गाउँपालिकाको प्रमुखमा विजयी भएको हो । अहिलेसम्मकै कमजोर देखिएको माओवादी केन्द्रले सहिद लखन गाउँपालिकाको प्रमुख र उपप्रमुखमा जितेर गोरखामा विजयको खाता खोलेको हो ।

प्रमुखमा रमेश थापा ३ हजार ८ सय ८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कृष्णबहादुर आलेले ३ हजार ४ सय ४ मत पाए । त्यस्तै उपप्रमुखमा पनि माओवादी केन्द्रकी इन्दिरा तिवारीले ३ हजार ७ सय ९८ मतका साथ विजयी भएकी छन् । उनका निकतटम प्रतिद्वन्द्वी काँग्रेसकी शर्मिला श्रेष्ठले ३ हजार ५ सय ७५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै धार्चे गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली काँग्रेसका उम्मेदवार सन्तबहादुर गुरुङ (सन्तोष) प्रमुख र फूलमाया गुरुङ उपप्रमुखमा विजयी भएका छन् । नेकपा (एमाले) र नयाँ शक्ति नेपाल पार्टीबीच तालमेल भई प्रमुख पदमा लडेका नयाँ शक्तिका लक्ष्मण गुरुङलाई हराउँदै सन्तबहादुर गुरुङ विजयी भएका हुन् ।

प्रमुख पदमा विजयी सन्तबहादुरले १ हजार ७ सय ९ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी नयाँ शक्तिका लक्ष्मणले १
हजार ६ सय ५६ मत प्राप्त गरे । उपप्रमुखका काँग्रेसकी फूलमायाले १ हजार ५ सय ९५ मतका साथ जित हासिल गर्दा माओवादी केन्द्रकी आशा गुरुङले एक हजार १२८ मत प्राप्त गरिन् ।

यसअघि चुमनुब्री, सिरानचोक, अजिरकोट र गण्डकी गाउँपालिकामा काँग्रेसले विजय हासिल गरिसकेको छ । भीमसेन, आरुघाट, सुलिकोट गाउँपालिकामा मत गणना भइरहेको छ । यस्तै, गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा पनि मतगणना भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org