ताजा समाचार

रुकुमका ६ वटै स्थानीय तहमा माओवादी केन्द्रका उम्मेदवार विजयी

रुकुम, ४ जेठ । रुकुमका ६ वटा स्थानीय तहमा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको छ । पहिलो चरणको निर्वाचन भएका रुकुमका ६ वटा स्थानीय तह सबैमा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको हो । तीन नगरपालिका र ३ गाउँपालिकामा भएको निर्वाचनमा ७३ वटा वडामध्ये ५८ वटा वडामा पनि माओवादीले जितेको छ। आठविसकोट, मुसिकोट र चौरजहारी नगरपालिका तथा सानीभेरी, बाँफिकोट र त्रिवेणी गाउँपालिकामा माओवादी विजयी भएको हो ।

आठविसकोट नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका गोर्खबहादुर केसी विजयी भएसँगै रुकुमका सवै स्थानीय तह माओवादीको हातमा परेको हो । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धिरेन्द्र बटालालाई २ हजार ३४ मत अन्तरले पराजित गरेर केसी आठविसकोट नगरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् ।

माओवादीका केसीले ५ हजार ६ सय २९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका बटालाले ३ हजार ५ सय ९५ मत प्राप्त गरे । नेकपा एमालेबाट नगर प्रमुखका उम्मेदवार हरिप्रसाद शर्माले २ हजार ४ सय ३५ मत पाए । उपप्रमुखमा पनि माओवादी केन्द्रकी गीता नेपाली निर्वाचित भएकी छन् । नेपालीले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अनिता बुढालाई २ हजार ४ सय ३१ मतले हराएर उपप्रमुखमा विजयी भएकी हुन् ।

नेपालीले ५ हजार ६ सय १८ मत पाइन् भने कांग्रेसकी बुढाको पक्षमा ३ हजार १ सय ८७ तथा एमालेकी अमृता शाहको पक्षमा २ हजार ७ सय ८५ मत खसेको छ । १३ वटामा नेपाली कांग्रेस र दुईवटामा नेकपा एमालेले जितेको छ । रुकुमका भुमे, पुथा उत्तरगंगा र सिस्ने गाउँपालिका भने पाँच नम्बर प्रदेशमा पर्ने भएकाले जेठ ३१ गते दोस्रो चरणमा चुनाव हुँदैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org