ताजा समाचार

चितवन राष्ट्रिय निकुञ्जले प्रधानमन्त्री प्रचण्डकै अगाडि बन्यजन्तुका अखेटोपहार नष्ट गर्ने

चितवन, ८ जेठ । चितवन राष्ट्रिय निकुञ्जले मरेका वन्यजन्तुहरुका अवशेष (अखेटोपहार) नष्ट गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा सोमवार एक विशेष कार्यक्रम गरेर राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा अखेटोपहार नष्ट गरिने भएको हो ।

कार्यक्रममा विभिन्न मन्त्रालयका मन्त्री, राज्यमन्त्री, सचिव, विभागीय प्रमुखहरु, मध्यवर्तीका प्रतिनिधि, राष्ट्रिय योजना आयोजका सदस्य, दातृ निकायका प्रतिनिधि लगायतको उपस्थितिमा अखेटोपहार नष्ट गर्न लागिएको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।
लामो समयसम्म भण्डारण गर्दा व्यवस्थापन गर्न अप्ठेरो भएको र सुरक्षा चुनौती समेत बढ्दै गएको भन्दै त्यसलाई नष्ट गर्न लागिएको निकुञ्जले जनाएको छ । अखेटोपहारहरु जलाएर यसको कुनै पनि महत्व छैन भन्ने सन्देश राष्ट्रिय निकुञ्जले दिन खोजेको प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए । चोरी शिकारीलाई निरुत्साहित गर्नका लागि यो कदमले मद्दत मिल्ने विश्वास निकुञ्जको छ ।

झण्डै बीस वर्ष यता संकलन भएको वन्यजन्तुका अखेटोपहार नष्ट गरिएको थिएन । वि.सं. ०५४ सालयता देशभरका राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, जिल्ला वन कार्यालय लगायतमा संकलन भएका अखेटोपहारलाई निकुञ्जको कार्यालय कसरा र सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीमा भण्डारण गरिँदै आएको थियो ।

दुबै ठाउँमा गरेर गैंडाका ३ सय ६९ खाग, पाटे बाघका ६९ वटा छाला, जंगली हात्तीका १ सय ८५ वटा दाह्रा, चितुवाका ४ सय ९३ छाला, कस्तुरी मृगको ३६ थान बिना लगायतका वस्तु संकलन गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org