ताजा समाचार

धनगढीमा गएराति सुतिरहेकै अवस्थामा एक दम्पत्तिको हत्या

धनगढी, ८ जेठ । कैलालीमा गएराति एक दम्पतिको घरमै सुतिरहेकै अवस्थामा हत्या भएको छ । धनगढी उपमहानगरपालिका ७ छात्राबास टोलमा आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरेर दम्पत्तिको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयले दिएको सूचनाको आधारमा प्रहरी घटनास्थल पुग्दा कोठामा ताला लगाएको भेटिएको थियो । प्रहरीले ताला तोडेर भित्र हेर्दा विभित्स अवस्थामा ७२ वर्षका बद्रिप्रसाद जोशी र उनकी श्रीमती ६५ वर्षकी कुन्ता देवि जोशीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुको अनुहारमा धारिलो हतियारले छियाछिया हुने गरी प्रहार गरेको र कोठामा ताला लगाएर राखेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) अर्जुन चन्दले जानकारी दिए ।

एसपी चन्दका अनुसार हत्याको आशंकामा जोशीको घरमा कोठा भाडामा लिएर बसेका समेत गरी ७ जनालाई नियन्त्रणमा लिईएको छ । अन्य २ जना फरार रहेको बताईएको छ । शिक्षण पेशाबाट अवकास प्राप्त जोशी जजमानी पेशा गर्दै आएरहेका थिए । जोशी दम्पत्तिको कसले के कारणले हत्या गरेको हो भन्ने विषयमा छानविन भईरहेको एसपी चन्दले जानकारी दिए ।

सोही घरमा कोठा भाडामा लिएर भुईतलामा बस्दै आएका भागीराम चौधरीका अनुसार आइतबार राती ८ बजे तिर २०र२२ जनाको संख्यामा मानिसहरु आएर खसी काटेर भोज खाएको र अबेर रातिसम्म नाचगान समेत गरेका थिए ।

मृतक दम्पत्तिका ३ छोरी र १ छोरा रहेका छन् । छोरा हाल वैदेशिक रोजगारीको सिलसिलामा स्पेन र एउटा छोरी अष्ट्रेलिया र अर्को छोरी अमेरिकामा रहेको छिन भने जेठी छोरी धनगढीमै रहेकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org