ताजा समाचार

प्रभु बैंकका १३४ शाखाबाट कुनै पनि कम्पनीको सेयर आवेदन दिन सकिने

काठमाडौं, २५ जेठ । प्रभु बैकका १३४ शाखाबाट कुनै पनि कम्पनीको सेयर आवेदन दिन सकिनेछ । प्रभु बैंकले नेपाल धितोपत्र बोर्डबाट आश्वा (धितोपत्र दरखास्तसम्वन्धी कार्य) सेवा सञ्चालन गर्ने इजाजत प्राप्त गरी विगत छ महिनादेखि नै आफ्ना सम्पूर्ण शाखाहरुबाट यो सेवा सञ्चालन गर्दै आएको छ ।

बैंकले गत माघ ५ गतेबाट आफ्ना सम्पूर्ण शाखाबाट आश्वासम्बन्धी सेवा सञ्चालन भइरहेकाले कुनै पनि कम्पनीको धितोपत्र सार्वजनिक रुपमा निष्काशन हुँदाको बखतमा दरखास्त फारम लिने व्यवस्था गरिएको जनाएको छ ।

यस प्रणालीअन्तर्गत धितोपत्र निष्काशन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त फारम बुझेर निजहरुको यस बैकमा भएको चल्ती, बचत वा कल खातामा रोक्का राखी दरखास्तको निष्सा दिइनेछ र धितोपत्र बाँडफाँट भएपछि निबेदकको नाममा सेयर बाँडफाँट भए बराबरको रकम मात्र खाताबाट कट्टा गरि बाँकी रकम सोही खातामा फुकुवा गरिनेछ ।

आश्वा सेवाअन्तर्गत यस बैकका १ सय ३४ शाखाबाट दरखास्त लिने व्यवस्थासहित बैक खाता तथा डिम्याट खाता पनि सहजताका साथ खोल्ने व्यवस्था गरिएको छ । प्रभु बैकले यो सुविधा आफ्ना ग्राहकहरुलाई बैकको केन्द्रिय कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयबाट उपलब्ध गराएबापत बैकले प्रति दरखास्त एक रुपैयाँ शुल्क लिने जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org