ताजा समाचार

२ महिनाभित्र १२० मिटरको दुरीमा जेब्रा क्रसिङ राख्न विकास समितिको निर्देशन

काठमाडौं, २६ जेठ । संसदको विकास समितिले १२० मिटरको दुरीमा जेब्रा क्रसिङ राख्न निर्देशन दिएको छ । ट्राफिक प्रहरीले पछिल्लो पटक जेब्रा क्रसिङ बाहेकका अन्य स्थानबाट बाटो काट्ने पैदल यात्रुलाई २०० रुपैयाँ जरिवाना गर्ने वा ३ घन्टा थुन्न थालेपछि विकास समितिले यस्तो निर्देशन दिएको हो ।

कारवाही प्रक्रियालाई कडाई गरेपछि ट्राफिक प्रहरीको चर्को आलोचना भइरहेको छ । आवश्यकता अनुसार जेब्रा क्रसिङ नै नभएको र पर्याप्त जनचेतना नजगाई कारबाही थालिएको भन्दै ट्राफिक प्रहरीको चर्को आलोचना भएपछि विकास समितिले यस्तो निर्देशन दिएको हो ।

विकास समितिको शुक्रबारको बैठकले उपत्यकाको सडकमा १२० मिटरमा जेब्रा क्रसिङ राख्ने गरी ७ दिनभित्र मापदण्ड बनाउन र २ महिनाभित्र कार्यान्वयन गरिसक्न सडक विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ ।

साथै पैदलयात्रीहरुलाई सडक अनुशासन पालना गरेको कारबाही गर्नुपूर्व पर्याप्त जनचेतना जगाउन भनेको छ । साथै सात दिनभित्र सडक अनुशासन निर्देशका तथा सडक र सडकपेटी प्रयोग गर्ने निर्देशक बनाएर कार्यान्वयन गर्न निर्देश गरेको छ ।

विकास समितिले ट्राफिक बत्ति पुनः सुचारु गर्ने प्रक्रिया छिटो निष्कर्षमा पुर्‍याउन भनेको छ । यदि यो प्रक्रियाले समय लिने भए आफ्नो स्रोत वा वैकल्पिक व्यवस्थापनबाट ५ महिनाभित्र ट्राफिक बत्ति पुनः सुचारु गर्न निर्देशन दिएको छ ।

संसदको विकास समितिको शुक्रबारको बैठकले ट्राफिक नियम उल्लंघन गरेवापत गरिने जरिवानाको १५ प्रतिशत रकम ट्राफिक प्रहरीलाई नदिन पनि निर्देशन दिएको छ । समितिले यस्तो भत्ता उपलब्ध गराउनुको साटो ट्राफिक प्रहरीलाई जोखिम तथा प्रोत्साहन भत्ता उपलब्ध गराउन विकास समितिले निर्देशन दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org