ताजा समाचार

भारतीय पक्षको दवावपछि कञ्चनपुरको पुनर्वासमा नेपाली सीमा सर्भे टोली कामै नगरी फिर्ता

कञ्चनपुर, २८ जेठ । नेपाल-भारत संयुक्त सीमा सर्भे टोली कञ्चनपुरको पुनर्बासबाट काम पूरा नगरी फिर्ता भएको छ । चैत्र अन्तिम सातादेखि काम सुरु गरेको संयुक्त सीमा सर्भे नेपाली टोली काम पूरा नगरी पुनर्वास नगरपालिका ८ शहीद गोविन्द बजार (आनन्दबजार) बाट शनिवार फिर्ता भएको हो ।

छेउछाउको करिव साढे चार किलोमिटर सीमा सर्भे गरी सीमास्तम्भ खडा गर्ने जिम्मेवारी पाएको नापी विभागको टोली अचानक फिर्ता भएको हो । नेपाली टोली अचानक फिर्ता भएपछि उक्त मामिला रहस्यमय बन्दै गएको छ । संयुक्त कार्य टोलीको समयसीमा, वर्षात र गरेको कार्यको रिपोर्टको लागि फिर्ता भएको टोलीले जनाएको छ । सर्भे टोलीका प्रमुख निर्मल आचार्यले वर्षात सुरु भएकाले आफुहरुले काम गर्न नसक्ने भन्दै फर्किएको बताए ।

गत चैत महिनामा पुनर्वास पुगेको सर्भे टोलीले सबै राजनैतिक दलका प्रतिनिधि तथा स्थानीय बुद्धिजीवि, समाजसेवी लगायतसँगको छलफलमा काम सकेर मात्र जाने बताएको थियो । तर अहिले आएर एकाएक विभिन्न कारण देखाउँदै टोली फर्किएपछि स्थानीयबासी आक्रोशित बनेका छन् ।

नेपाल–भारत सीमास्तम्भ नम्बर ७६८ अर्थात् साविकको १९८ नम्बर सीमास्तम्भदेखि हालको ७७१ नम्बर सीमास्तम्भ अर्थात २०१ नम्बर स्तम्भसम्मकोबीचमा पर्ने अर्थात १९९ र २०० नम्बर सीमास्तम्भलाई अहिलेसम्म मुख्य स्तम्भ मानिदै आएको थियो । तर, ती मुख्य स्तम्भ नभएको खुलासा भएको नेपाली टोलीका प्रमुख आचार्यले बताएका थिए ।

टोली प्रमुख आचार्यले ती दुई स्तम्भ ‘बर्डर पिलर’ नभएको र ‘रिफरेन्स पिलर’ हुन सक्ने बताए । बर्डर पिलरलाई खास सीमास्तम्भ मानिन्छ भने सीमास्तम्भ पहिचान गर्न सघाउने सहायक स्तम्भलाई रिफरेन्स पिलर भनिन्छ । यसअघिसम्म भारतले ती दुई स्तम्भलाई नै बर्डर पिलर भन्दै आईरहेको थियो ।

टोलीका प्राविधिक कासीलाल चौधरीलेले एक सातादेखि भारतीय टोलीले भारत तर्फ सर्वे गर्न नमानेको बताएका थिए । उनका अनुसार स्ट्रीप म्यापका आधारमा अहिलेको सीमारेखा करिव ५ सय मिटर भारततर्फ सर्ने देखिएपछि भारतले काम रोकेको थियो । काम रोकेर भारतीय टोलीले नेपाली टोलीलाई वार्तामा बोलाएको थियो । तर नेपाल सरकारले वार्ताको आदेश दिएको थिएन । नेपाल सरकारले वार्ताको आदेश नदिएपछि भारतीय पक्षले नेपाली पक्षलाई काम बन्द गर्न निरन्तर दवाव दिएको बुझिएको छ । भारतीय पक्षको दवावपछि नेपाली टोली आफ्नो कामबाट व्याक भएको एक स्थानीयले बताए ।

नेपाली टोली फर्किए पनि भारतीय टोली अझै बसहीमा बसेर काम गरिरहेको स्थानीयको भनाई छ । नेपाली टोलीले वर्षात लागेको कारण देखाउँदै फर्किएको तर भारतीय टोलीले भने अझै काम जारी राखेको भन्दै स्थानीयले भने, ‘नेपाली पक्षको यस्तो हर्कतले त सीमाबासीले समस्या भोग्नुपरेको छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org