ताजा समाचार

अब गोही, गौरीगाई र अजिंगरले आक्रमण गरे पनि राहत पाइने

चितवन । गोही, गौरीगाई र अजिंगरले मानिसलाई आक्रमण गरे पनि राहत पाइने भएको छ । यसअघि, केही निश्चित वन्यजन्तुले आक्रमण गर्दामात्रै राहत दिने व्यवस्था थियो । हालै वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ को दोस्रो संशोधनले प्रजाति थपेर राहतको व्यवस्था गरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

यसअघि, ११ प्रजातिका वन्यजन्तुले आक्रमण गरेमा राहत दिने व्यवस्था थियो । हालै भएको दोस्रो संशोधनले तीन प्रजाति थपेर १४ प्रजातिका वन्यजन्तु र सरीसृपले आक्रमण गरेमा राहत पाउने व्यवस्था गरेको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका सहायक व्यवस्थापन अधिकृत विष्णु थपलियाकाअनुसार २०६९ सालमा निर्देशिका जारी हुँदा हात्ती, गैंडा, बाघ, भालु, चितुवा, हिमचितुवा, जंगलीबँदेल र अर्ना गरी ८ प्रजातिबाट आक्रमण भएमा राहत दिने व्यवस्था थियो ।

पहिलो संशोधन २०७२ ले ध्वाँसेचितुवा, ब्वाँसो र जंगली कुकुरलाईसमेत थपेर ११ प्रजातिले आक्रमण गरेमा राहत दिने व्यवस्था गरिएको थियो । हालै भएको संशोधन–२०७४ ले भने मगर गोही, अजिंगर र गौरीगाईसमेत थपेर १४ प्रजातिका जनावर तथा सरीसृपले आक्रमण गरेमा राहत दिने व्यवस्था गरिएको थपलियाले जानकारी दिए ।

ती वन्यजन्तु तथा सरीसृपबाट मानिस घाइते भए, उनीहरुको उपचारका लागि र मृत्यु भए उनका परिवारलाई राहत दिइने जनाइएको छ । जेठ १९ को मन्त्रिपरिषदको निर्णयअनुसार राहत रकमलाई पनि दोब्बर बनाइएको छ ।

निकुञ्जका महानिर्देशक मनबहादुर खड्काले यसले संरक्षणमा राज्यले महत्व राखेको छ भनेर बुझ्नसकिने बताए । उनले वन्यजन्तुलाई बाहिर आउन नदिन भरपुर प्रयास भएपनि घटना भइरहेकाले द्वन्द्व घटनाउन सहयोगी हुने दाबी गरे ।

अनुमति लिएर सामुदायिक वन क्षेत्रमा जाँदा र गाउँबस्तीमा आएर वन्यजन्तुले आक्रमण गरेको अवस्थामामात्रै राहत पाइनेछ । राष्ट्रिय निकुञ्जभित्र घटना भएमा भने राहत नपाइने सूचना अधिकारी अर्यालले जानकारी दिए ।

सरकारी काममा वा अनुमति लिएर संरक्षणमा खटिएकाहरुलाई आक्रमण गरेमा भने निर्देशिकाअनुसार नै राहत उपलब्ध गराइने उल्लेख छ । राहत पाउनका लागि घटना भएको ३५ दिनभित्र निवेदन दिइसक्नुपर्नेछ ।

हालैको निर्णयअनुसार मृत्यु भएकाको हकमा आश्रित परिवारलाई रु १० लाख, सख्त घाइते भएमा बढीमा रु दुई लाख, सामान्य घाइते भएमा रु २० हजारसम्म उपचार राहत दिइने निकुञ्जले जनाएको छ ।

पशुधनको क्षति भएमा रु १० देखि ३० हजारसम्म, घरगोठ क्षति भएमा रु १० हजार, खाद्यान्नबाली क्षति भएमा बढीमा रु १० हजार दिइनेछ । वि.सं २०७४ जेठ १९ मा सरकारको निर्णयअनुसार राहत दोब्बर बढाउने र थप तीनओटा वन्यजन्तुले आक्रमण गरेमा राहत दिने व्यवस्था गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org