ताजा समाचार

दार्जिलिङमा प्रहरीको गोलीबाट मारिएकाको शवयात्रामा हजारौं नेपालीभाषी

दार्जिलिङ, ५ असार । बंगाल प्रहरी र गोर्खा जनमुक्ति मोर्चाका प्रदर्शनकारीबीच शनिबार दार्जिलिङमा भएको झडपमा प्रहरी गोली लागेर ज्यान गुमाएका तीनमध्ये दुईजनाको शवयात्रामा हजारौं नेपाली भाषी भारतीय सहभागी भएका छन् । शनिबार ज्यान गुमाएकामध्ये महेश गुरुङको शव सिलिगुडीबाट ल्याउन ढिलो भएपछि विमल गजमेर र सुनील राईको शवयात्रामा गोर्खाल्यान्ड पक्षमा रहेका हजारौंले सहभागिता जनाएको मोर्चा नेत्री निरा शर्माले जानकारी दिए ।

दार्जिलिङ बजारबाट सुरु भएको शवयात्रा पार्टी कार्यालय सिम्वाडीसम्म पुगेको शर्माले बताउनुभयो । गुरुङको शव भने साँझ मात्र दार्जिलिङ ल्याइएको थियो । शवयात्रापछि दुवै शव परिवारलाई जिम्मा लगाइएको छ ।

बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्टेटिभ (जिटिए) प्रमुख विमल गुरुङको दार्जिलिङस्थित घर र कार्यालयमा छापा मारेर तोडफोड गरेपछि चर्किएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा शनिबार तीन जनाको ज्यान गएको थियो । बंगाल सरकारले शनिबार रातिबाट इन्टरनेटसमेत बन्द गरिदिएको छ ।

आन्दोलन चर्किएपछि बंगाल सरकारले स्थानीय टेलिभिजन च्यानल पनि बन्द गराएको छ । बंगालभाषाको बाध्यकारी अध्ययन व्यवस्थापछि नेपालीभाषी भारतीयको सघन बसोवास भएको दार्जिलिङसहित गोर्खाल्यान्ड क्षेत्रमा चर्किएको आन्दोलन दबाउन राज्य सरकारले प्रहरी र सेना परिचालन गरेको छ । उक्त घटनापछि मोर्चाका नेता भूमिगत छन् ।

आइतबार पनि दार्जिलिङको सडकमा सवारी चलेनन् भने विद्यालय, कलकारखाना, सरकारी कार्यालयसमेत ठप्प रहेको आजको अन्नपूर्ण पोस्टले खबर लेखेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org