ताजा समाचार

रुकुम र रोल्पामा माओवादी केन्द्रका ७ उम्मेदवार निर्विरोध निर्वाचित

रुकुम, ५ असार । भुमे गाउँपालिकामा माओवादी केन्द्रका ५ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । भुमे गाउँपालिकाको वडा नम्बर ७ मा वडा अध्यक्षबाहेक ४ जना सदस्यहरु र वडा नम्बर ६ का दलित महिला सदस्यमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

वडा नम्बर ७ का महिला सदस्य मनकुमारी बुढा, दलित महिला सदस्य रामकुमारी सुनार, वडा सदस्यहरु धनिमान बुढा र रुपधन कामी निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै, वडा नम्बर६ की दलित महिला सदस्य मीना सुनार पनि निर्विरोध निर्वाचित भएकी छन् ।

गाउँपालिका अध्यक्षमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राजमो र स्वतन्त्र गरी ५ जनाले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा कांग्रेस, एमाले र माओवादी केन्द्रले उम्मेदवारी दिएका छन् । ९ वटा वडा रहेको भुमे गाउँपालिकामा माओवादी केन्द्रले ४७ जना, कांग्रेसले ३६ जना र एमालेको २७ जनाले उम्मेदवारी दिएका छन् ।

रोल्पामा पनि २ सदस्य निर्वाचितः

यस्तै रोल्पाको थवाङ गाउँपालिकामा माओवादी केन्द्रका दुई सदस्य निर्विरोध निर्वाचित भएका छन् । थवाङ गाउँपालिकाको वडा नम्बर ३ मा रामकुमारी कामी र वडा नम्बर ४ मा माया विक सदस्य पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

दलित सदस्यमा अरूको उम्मेदवारी नपरेपछि उनीहरू निर्बिरोध भएको र चुनाव चिन्ह प्रदान गर्ने दिन निर्बिरोध भएको औपचारिक घोषणा गर्ने निर्वाचन अधिकृत कमलबहादुर बिष्टले जानकारी दिए । थवाङमा गाउँपालिकामा कांग्रेस र विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गरेका छन् । एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै चुनाव लडेका छन् ।

थवाङ गाउँपालिकाको अध्यक्षमा विप्लव समूहका अमित घर्ती र उपाध्यक्षमा कांग्रेसकी श्रीकुमारी रोका उम्मेदवार छिन् । थवाङमा एमालेका हितबहादुर रोका अध्यक्ष र धनकुमारी बुढामगर उपाध्यक्ष तथा माओवादी केन्द्रबाट वीरबहादुर घर्तीमगर ‘वियोग’ अध्यक्ष र रामकिरणी रोकामगर उपाध्यक्षको उम्मेदवार छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org