ताजा समाचार

पुनर्निर्माणको समयसीमा तोकियो, भूकम्पपीडितले आगामी साउनसम्म आफ्नो घर बनाइसक्नुपर्ने

काठमाडौं, १३ साउन । अहिलेसम्म पहिचान भएका सबै भूकम्पपीडितले आगामी साउनसम्म आफ्नो घर बनाइसक्नुपर्ने भएको छ । भूकम्प गएको लामो समयसम्म पनि भूकम्पपीडित छानोमुनि बस्न बाध्य भईरहेका बेला सरकारले यस्तो नीति ल्याएको हो । भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण गर्न एक वर्षको समयसीमा तोक्दै सरकारले त्यसको लागि कार्ययोजना बनाएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो किस्ता बुझेर पनि निजी आवास निर्माणमा ढिलासुस्ती भएको निश्कर्ष निकाल्दै घर बनाइसक्ने गरी समयसीमा तोकेको हो । अब क्षतिग्रस्त ७ लाख ४७ हजार घर २०७५ को साउनसम्म बनाइसक्नुपर्नेछ । सरकारले अनुदान लिने समयसीमा निर्धारण गर्दै २०७५ असारभित्र तेस्रो किस्ता लिइसक्नुपर्ने गरी नियम बनाएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिले अबको कार्तिक मसान्तसम्म सबै लाभग्राहीसँग अनुदान सम्झौता गरेर पहिलो किस्ता दिइसक्ने निर्णय गरेको हो ।

लाभग्राहीको सूचीमा नपरेकाले पनि आफ्नो गुनासो स्थानीय तहमा राखेर कार्तिकसम्म अनिवार्य रुपमा पहिलो किस्ता लिइसक्नुपर्ने प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए । दोस्रो किस्ता लिन पनि प्राधिकरणले समयसीमा तोकेको छ । कार्तिकभित्र पहिलो किस्ता लिएकाहरुले पुस महासन्तसम्म दोस्रो किस्ता लिने गरी काम गर्नुपर्ने भएको छ । पहिलो किस्ताको अनुदान लिएर घरको जग राखेपछि दोस्रो किस्ता रकम पाइन्छ । दोस्रो किस्तामा पीडितले १ लाख ५० हजार रुपैयाँ पाउँछन् ।

त्यस्तै आगामी असारसम्म तेस्रो किस्ता रकम बुझिसक्नुपर्नेछ । घरको गाह्रो उठेपछि सरकारले छाना राख्नका लागि तेस्रो तथा अन्तिम किस्तावापत १ लाख रुपैयाँ दिने प्रवक्ता भुसालले जानकारी दिए । अहिलेसम्म देशभर ७ लाख ४९ हजार ७ सय ९६ भूकम्पपीडित पहिचान भएका छन् । यसमध्ये ६ लाख ३० हजार ४ सय ४९ परिवारले घर पुनर्निर्माणका लागि सम्झौता गरेका छन् ।

ययमध्ये पनि ५ लाख ९९ हजार ३ सय २४ पीडितले पहिलो किस्ता बापतको ५० हजार लिइसकेका छन् । यति धेरैले पहिलो किस्ता बुझेपनि जम्मा ५५ हजार ५५ जना पीडितले मात्रै घरको जग हालेर दोस्रो किस्ताको डेढ लाख बुझेका छन् । तेस्रो किस्ता लिनेको संख्या २ हजार ७ सय ३४ मात्रै छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org