ताजा समाचार

ट्राफिक जामको समस्या व्यवस्थापन गर्न लगनखेल बसपार्क आजदेखि बसस्टपमा परिणत

ललितपुर, १५ साउन । ललितपुरको लगनखेलमा रहेको बसपार्क आजदेखि बसस्टपमा परिणत भएको छ । ट्राफिक जामको समस्या व्यवस्थापन गर्न आज (आइतबार) देखि बसस्टपमा परिणत गरिएको हो । अब लगनखेलमा एउटा रुटमा दुईवटा बस मात्र बस्न पाउने ललितपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथुले जानकारी दिए । ‘दुईवटा गाडी मात्र लगनखेलमा हुँदा यात्रुले बाटोमा धेरैबेर गाडी कुर्नुपर्दैन’ उनले भने, ‘यसले यात्रुलाई आवतजावगत गर्न सजिलो हुनुका साथै ट्राफिक जामको समस्या पनि कम हुन्छ ।’

यसअघि लगनखेल बसपार्कमा ललितपुरका विभिन्न ठाउँमा गाडी जम्मा हुने गरेकोमा अब सम्बन्धित गाउँमा नै बसपार्क बनाइएको पनि उनले बताए । अब गोदावारी, चापागाउँ, बुङ्मती, लुभू, लामाटार, लगायतका क्षेत्रलाई नै बसपार्क बनाएर त्यहाँबाट बस छुट्ने व्यवस्था गरिएको छ । धेरै सवारी थुप्रिँदा सडकसमेत जाम हुने गरेको र दुर्घटना पनि बढी हुने गरेको यस्तो ब्यवस्था गरिएको हाछेथुले बताए ।

व्यवस्थापिका संसद उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्धी समितिको निर्देशन बमोजिम प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठको अध्यक्षतामा गएको मंगलबार बसेको बैठकले लगनखेल बसपार्कलाई बसस्टपमा परिणत गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम बसपार्कलाई बसस्टपमा परिणत गरिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org