ताजा समाचार

हेलिकोप्टर चढेर सडक अनुगमन गर्न गएका प्रधानमन्त्रीको रिसोर्टमा बसेर निर्देशन ‘काम छिटो सक्नु’

चितवन, १८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले हेलिकोप्टर चढेर मुग्लिन–नारायणगढ सडकको अनुगमनमा निस्किएका छन् । सर्वसाधारण मुग्लिन–नारायणगढ सडकखण्डमा दैनिक कहालीलाग्दो यात्रा गर्न यात्रु बाध्य रहेका बेला देउवा हवाई मार्ग हुँदै अनुगमनमा निस्किएका हुन् ।

राजमार्गबाट ‘मृत्युमार्ग’मा परिणत भइरहेको खडकको अनुगमनका लागि बुधबार प्रधानमन्त्री देउवा सेनाको हेलिकोप्टरबाट गएका हुन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार नै प्रधानमन्त्री देउवा बुधबार सडकखण्डको अवलोकनमा पुगेका थिए।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायर, पूर्व रक्षामन्त्री बालकृष्ण खाँणसहितको टोली लगेर देउवाले अनुगमन गर्नुका साथै सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् । देउवाको टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र सचिवालयका केही सदस्य समेत थिए।

सडक अनुगमनमा निस्किएका देउवा सेनाको हेलिकोप्टरमा दियालो बंगलामा ल्याण्ड गरे। अनि, दासढुंगा पुगे। दासढुंगा पुगेका प्रधानमन्त्रीले सवैभन्दा बढी पहिरो प्रभावित क्षेत्र कालीखोलामा जाने बेला सुरक्षाका कारण भन्दै सुरक्षाकर्मीले रोके। र त्यसपछि प्रधानमन्त्री दासढुंगाकै प्रेसिडेन्सी रिसोर्टमा लागे । त्यहाँ सडक विभाग र आयोजना कार्यालयद्वारा कार्यक्रमको तयारी नै थियो।

प्रधानमन्त्री देउवाले सोही स्थानबाट सडक अनुगमन कार्यक्रममा निर्माणको चाँडो सक्न निर्देशन दिए । सरोकारवाला निकायलाई निर्देशन दिँदै प्रधानमन्त्रीले भने ‘चाडोभन्दा चाडो सडक निर्माणको काम सक्नु।’ डेढ वर्षदेखि मुग्लिन नारायणगढ सडकखण्डमा यात्रुलाई सास्ती छ। कहिले एकतर्फी रुपमा यात्रा गराइने गरिएको छ।

कहिले रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। लामो समयदेखि सडक विस्तारको काम भए पनि लक्ष्य अनुसार प्रगति भएको छैन। अहिले दैनिक १२ घण्टा काम भईरहेको छ । रातिको समयमा उज्यालोको व्यवस्था गरेर सडक निर्माण कार्य भईरहको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org