ताजा समाचार

रसुवामा पहिरोले ८ घर पुरिंदा ४ जना बेपत्ता, बाटो अप्ठ्यारो भएकाले उद्धारमा कठिनाई

रसुवा, २३ साउन । रसुवामा पहिरोमा ८ घर पुरिँदा ४ जना बेपत्ता भएका छन् । उत्तरगया गाउँपालिका–४ मा पहिरेबेंसीमा गएराति आएको पहिरोले धर्मराज थापा मगरको घर पुरिएको हो । पहिरोमा परी ७५ वर्षीय थापासहित, उनकी ३५ वर्षीया बुहारी मुना थापामगर, ४ वर्षीया नातिनी र ७८ वर्षीय भक्तबहादुर नगरकोटी बेपत्ता भएका छन् । पहिरोमा परेका ४ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । घाइेतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

पैरेबेंसीको दुई वस्तीमा पहिरो झरेको स्थानीयबासिन्दाले जानकारी दिएका छन् । रातीको समयमा उद्दार गर्न समेत कठिनाई भएपछि आज बिहानैदेखि उद्धार कार्य थालिएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिए । आज बिहानदेखि सुरक्षाकर्मी, स्थानीयको सहयोगमा उद्धारको कार्य जारी रहेको न्यौपानेले बताए । पहिरोका कारण चारैतिर बाटो अवरुद्ध भएका कारण उद्धारकर्मी घटनास्थल जान नसकेका न्यौपानेको भनाई छ ।

आइबार राति ११ बजे आएको पहिरोमा पर्नेहरुको उद्धार गर्न नुवाकोटको श्रीनाथ गणबाट सेनानी रमेश गुरुङको नेतृत्वमा २५ जना सेना घटनास्थल गएको थियो । केहीको रातिनै उद्धार गरिएको र बिहान पुन उद्धार र बेपत्ताको खाजी सुरु गरिएको प्रमुख सेनानी राहति गुरुङले बताए । यसैगरी पहिरोको कारण जिल्लाको ढुङ्गेमा पनि दुईवटा घरमा क्षति पुगेको छ । साथै धारापानी, कटुन्जे र माँझगाँउमा समेत पहिरो खसेपछि स्थानीयबासिन्दा त्रसित भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org