ताजा समाचार

जुम्लाका एलडीओेसहित १३७ कर्मचारी छड्केमा, तीन कर्मचारी अग्रिम हाजिर गरेर हिँडे


जुम्ला, २३ साउन । जुम्लाका १३७ जना कर्मचारी छड्के जाँचमा परेका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाले गरेको छड्के अनुगमनमा अनुपस्थित भएका १३७ कर्मचारी उनीहरु संलग्न कार्यालयलाई स्पष्टीकरण सोधिएको छ ।

प्रशासनले गरेको अनुगमनमा के कति कारणले कर्मचारी अनुपस्थित भएका हुन् त्यस विषयमा जानकारी दिन कार्यालय र कर्मचारीलाई स्पष्टीकरणको लागि लिखित पत्र पठाइएको हो । जिल्ला प्रशासन कार्यालयले गएको १९ गते गरेको छड्के अनुगमनमा १७ वटा सरकारी कार्यालय हाजिरी छड्केमा परेको र १३७ जना कर्मचारी अनुपस्थित रहेको देखिएकाले सम्बन्धित सरकारी कार्यालयका प्रमुख एवं कर्मचारीहरुलाई स्पष्टिकरण पत्र पठाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जानकारी दिए ।

कर्मचारी जिल्ला बाहिर रहेको व्यापक गुनासो आएकाले अनुगमन गरिएको उनले बताए । छड्केमा स्थानीय विकास अधिकारी हरिनारायण बेल्वासे र जिल्ला ईन्जिनियर राजकुमार गोइतसहित जिल्लाका १३७ कर्मचारी रहेका छन् । यसैगरी ३ जनाका कर्मचारीले अग्रिमनै हाजिर गरेको भेटिएको छ । अग्रिम नै हाजिर गर्ने कर्मचारीलाई कारवाहीका लागि प्रक्रिया अघि बढाइएको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org