ताजा समाचार

प्रहरी ‘इन्काउन्टर’को नाममा गोली चलाउँछ, सीमानामा भारतीयले गोली चलाउँदा के हेरेर बस्छ ?

काठमाडौं, २४ साउन । सोमबार दिउँसो प्रहरीको गोली लागेर ललितपुरमा एक व्यक्तिको ज्यान गयो । लागुऔषध कारोबारी भएको आरोपमा ललितपुर–१३ कुसुन्तीका ३२ वर्षीय प्रविण खत्रीले प्रहरीको गाली लागेर ज्यान गुमाउनुपर्‍यो । यो घटनालाई प्रहरीले आफ्नो भाषामा इन्काउन्टरको संज्ञा दियो ।

घटना घट्ने विक्तिकै प्रहरीले यसलाई जवाफी कारवाहीमा मारिएको बतायो । तर प्रहरी उच्च अधिकारीहरुसँग कुरा मिलाएर उक्त घटनालाई सुसाईट भन्यो । सुरुमा प्रहरीले यो घटनालाई घरको दुई तलाबाट हाम फालेर प्रहरीमाथि नै गोली प्रहार गरेर भाग्न खोजेपछि जवाफी गोली प्रहार गर्दा उनी मारिएको दाबी गरेको थियो । तर केही समयपछि भने खत्री आफैले कन्चटमा गोली प्रहार गरेर आत्महत्या गरेको प्रहरीले अर्को बयान दियो । प्रहरीका अनुसार खत्री लागूऔषधका कारोबारी हुन्।

प्रहरीको इन्काउन्टरमा मारिएका खत्रीका बाबु प्रमोद खत्रीले भने प्रहरीले सिधै घरमा आएर गोली हानेको आरोप लगाए । अपराधी नै भएपनि प्रहरीले पक्राउ गरेर जेल हाल्नु पर्नेमा छोरालाई सिधै गोली हानेको आरोप लगाए । भावविहल अवस्थामा रहेका प्रमोद आक्रोशित हुँदै प्रश्न गरे, सिधै घरमा आएर गोली हानियो । घरभित्र पसेर गोली हानेर मान्छे मार्ने पुलिसलाई कसले अधिकार दिएको छ ?’ उनले कसैलाई मार्ने अधिकार प्रहरीलाई नभएको भन्दै गुनासो गरे।

मृतक खत्रीका काकाले पनि अपराधी नै भएपनि जेल हाल्नु पर्नेमा प्रहरीले गोली हानेर हत्या गरेको भन्दै आक्रोश पोखे । ‘मान्छे मार्नलाई प्रहरी बनाएको होइन। प्रहरीको काम सुरक्षा दिने हो मान्छे मार्ने होइन,’ उनले आक्रोशित हुँदै भने। उनले सीमामा भारतीयहरुले गोली हान्दा प्रहरी किन हेरेर बस्छ भन्ने प्रश्न पनि गरे । ‘भारतीयले आक्रमण गर्दा तमाशा हेरेर बस्ने प्रहरी हामीजस्ता निरीह जनतालाई गोली हान्न राख्या हो ?,’ उनको प्रश्न छ ।

उनले कसैले गल्ती काम गरेको भए जेल हालेर सजाय दिनु पर्ने ठाउँमा अपराधीको नाममा गोली हानिएको आरोप लगाए। ‘कुनै अपराधी नै भए पनि गोली हान्न पाइँदैन् । घरमा सिधै पुलिस छिर्न पाउँदैन। इन्काउन्टर भन्ने कहाँ हो गोली हान्ने। प्रविनको कन्टचमा हानिएको छ गोली,’ उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org