नेपालमा बेला बेला किन भईरहन्छ इन्काउन्टरको गलत अभ्यास ?
काठमाडौं, २५ साउन । ‘गुन्डा’ नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरी ‘इन्काउन्टर’ मा मारिएपछि उनी आबद्ध पार्टी एमालेमा हल्लीखल्ली नै भयो । पार्टीमै दुई धार देखियो । त्यति बेला एमाले उपाध्यक्ष वामदेव गौतम उपप्रधान तथा गृहमन्त्री थिए । ‘वान्टेड’ सूचीमा परेपछि भारतमा लुकेर बसेका चरीलाई काठमाडौं ल्याउने प्रबन्धसँगै प्रहरीको ‘इन्काउन्टर’ योजना बनेको थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ । तत्कालीन गृहमन्त्री गौतमको ‘ग्रिन सिग्नल’ पछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबाट स्वीकृति लिएर पुष्कर कार्की (हाल डीआईजी) नेतृत्वको अपराध महाशाखाले उनलाई ‘सफाया’ गर्ने रणनीति बनाएको थियो ।
२०७१ साउन २१ गते सीतापाइलाबाट धादिङ निस्कने बाटो भीमढुंगामा उनी इन्काउन्टरमा मारिए । मोरसाइकल चढेकै अवस्थामा उनले फायर खोलेपछि प्रतिरक्षामा गोली चलाइएको दाबी प्रहरीको थियो । प्रहरीबाटै पुष्टि हुने भएकाले उनी इन्काउन्टरमै मारिएको घटना बाहिर आयो ।
धादिङका नेता राजेन्द्र पाण्डेले सदनमै उक्त घटनाको छानबिन माग गरे पनि पार्टी नेतृत्व र गौतमले चासो नदेखाएपछि रोकियो । प्रहरीले जानी-जानी कसैलाई मार्न नपाउने भन्दै पाण्डेले बाँच्न पाउने हक कुण्ठित गरेको जिकिर गरे । केही महिनापछि उक्त घटना छानबिनको मुद्दा नै सेलायो । यसको एक वर्षपछि २०७२ भदौ ३ गते अर्का गुन्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ घरमै प्रहरी इन्कान्टरमा मारिए ।
घैंटे इन्कान्टर
सामाखुसीस्थित घरमा प्रहरी ‘टारगेट’ मा परेका घैंटेलाई उपचारका क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत घोषित गरिएको थियो । तत्कालीन एसएसपी सर्वेन्द्र खनाल (हाल डीआईजी) नेतृत्वको महाशाखाले घैंटे इन्कान्टरको नेतृत्व गरेको थियो । कांग्रेससँग आबद्ध घैंटे आफूलाई सुधार्ने प्रयास गरेको बताइरहे पनि भित्र-भित्र आपराधिक गतिविधिमै थिए । कांग्रेस नेता जगदीशनरसिंह केसीले प्रहरीले ‘हिरो’ बन्न उनको हत्या गरेको अरोप लगाएका थिए ।
१३ महिनाको अवधिमा दुई-दुई इन्कान्टर किन र केका लागि भन्ने प्रश्न उठे पनि चरी र घैंटे दुवैको आपराधिक आवरणले कोही बोल्न सकेनन् । किनकि, उनीहरू ठूला दुई राजनीतिक दलको संरक्षणमा आपराधिक गतिविधिमा संलग्न थिए ।
प्रवीण खत्रीको इन्काउन्टर
सोमबार मात्र एसएसपी दिनेश अमात्य नेतृत्वको महाशाखाले अर्का युवक ललितपुर कुसुन्तीका प्रवीण खत्रीको इन्काउन्टर गर्यो । लागूऔषध दुव्र्यसनी खत्रीलाई परिवारले चरणबद्ध पुनःस्थापना केन्द्रमा राखेको थियो । प्रहरीले खत्रीमाथि लागूऔषध कारोबारी भएको आरोप लगाएको छ । दुईवटा हतियार बोकेर खत्रीले फायर खोल्न खोजेपछि जवाफी कारबाही गरिएको प्रहरीको दाबी छ । चरी र घैंटेको इन्कान्टर अनि खत्रीको इन्काउन्टरलाई पृष्ठभूमिमा भएको घटनाका रूप लिन सकिन्छ ।
छानबिनको विषय
भारतको विहार, मुम्बई, तलिमनाडुलगायत राज्यमा ‘इन्काउन्टर स्पेसलिस्ट’ प्रहरी अधिकृत छन् । ती राज्यमा इन्काउन्टर सेलसमेत छन् । नेपालमा उक्त प्रयास नभए पनि प्रहरीभित्र ‘हिरोइज्म’ वा आवश्यक ठानेर बेला’-बेला प्रहरीले इन्काउन्टर गर्दै आएको छ । सोमबार मारिएका खत्री त्यसकै निरन्तरता हो वा उनी इन्काउन्टरका भागीदार थिए भन्ने छानबिनको विषय बनेको छ ।
पद्धति जायज हो ?
रानीबारी हत्याकाण्ड, न्यायाधीश रणबहादुर बमको हत्या, ख्याति श्रेष्ठको क्रूर हत्यालगायत ठूला घटनाका अभियुक्त पक्राउ गर्न सफल प्रहरीले इन्काउन्टर पद्धति अपनाएको थिएन । तर, खत्रीजस्ता दुव्र्यसनीलाई पक्राउ गर्न प्रहरीले यो पद्धति अपनाउनु कत्तिको जायज हो ? दुईवटा हतियार खत्रीले बोक्नु कानुनविपरीत भए पनि उनले भोग्ने कानुनी सजाय खुला थियो । प्रहरीले चाहेको भए अन्य विधिमार्फत पनि खत्रीलाई नियन्त्रणमा लिई कानुनी दायरामा ल्याउन सक्थ्यो । अपराधी नियन्त्रणको अन्तिम बिन्दु इन्काउन्टर नै हो त ? यति बेला प्रश्न खडा भएको छ ।
प्रहरी कारबाहीमा होडबाजी
प्रहरीले ‘गुन्डा’को संज्ञा दिएका कतिपय ‘दादा’ र ‘डन’ खुलेआम हिँडिरहेकै छन् । खत्रीको प्रसंगमा उनी परिवारमा ‘जानकार’ दुव्र्यसनी हुन् । मानवअधिकारका दृष्टिकोणले पनि जो जुनसुकै पृष्ठभूमिमा भए पनि उसलाई बाँच्न पाउने अधिकार सुरक्षित राख्नुपर्छ । प्रहरी कारबाही होडबाजीमा चल्ने हो वा आवश्यकता र कानुनी दायराभित्र रहेर गर्ने भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण छ ।
इन्काउन्टर भन्ने शब्द छैन
नेपाल प्रहरीका प्रवक्ता डीआईजी पुष्कर कार्कीले भने नेपालमा इन्काउन्टर भन्ने शब्द नै नरहेको दाबी गर्दै यसलाई मिडियाले लिएर आएको प्रतिक्रिया दिएका छन् । ‘तर, घटनामा अनुपातिक, आवश्यक र कानुनसम्मत परिधिभित्र रहेर प्रहरीले बल प्रयोग गर्दै आएको छ । नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय कानुनमा पनि यही व्यवस्था छ ।’
‘फेक इन्काउन्टरको गलत अभ्यास’
मानवअधिकार आयोगका पूर्वसदस्य गौरी प्रधान प्रहरीले आत्मरक्षाका लागि जवाफी फायर गर्न पाउने बताउँछन् । ‘कानुनले नै त्यो अधिकार दिएको छ तर इन्काउन्टर नै हो भन्ने घटनाले पुष्टि हुनु जरुरी उत्तिकै छ’ उनी भन्छन् । अन्तर्राष्ट्रिय तवरमै दुई थरी इन्काउन्टरका घटना हुँदै आएको उनी सुनाउँछन्, एउटा रियल र अर्को फेक । ‘
आपराधिक गतिविधि निर्मूल पार्ने नाममा फेक इन्काउन्टर गर्ने गलत अभ्यास बस्यो, भोलि मुलुकमा कानुनी व्यवस्था र त्यसको व्याख्या कसरी सिद्ध गर्ने ?’, उनी प्रश्न गर्छन्, ‘इन्काउन्टरको सवालमा खटिएका प्रहरी अधिकृत छानबिनको दायरामा आउनुपर्छ र पुष्टि हुन जरुरी छ ।’ नेपाल प्रहरीले मानवअधिकारको सम्मान गरेको अन्तराष्ट्रिय चर्चा रहे पनि बेला/बेला हुने यस्ता घटनाले प्रश्न तेस्र्याइरहेका छन् ।
Comments
अरु समाचार
-
यसरी मनाइँदैछ विश्व पर्यटन दिवस
काठमाडौँ, ११ असोजः आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई...
-
शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र...
-
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिइने
काठमाडौँ। सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल...
-
भैरहवा भन्सारबाट व्यापक राजस्व छली
काठमाडौं । भैरहवा भन्सार जस्तो देशको दोस्रो ठुलो भन्सार कार्यालयमा विगतमा रसुवा र मेची भन्सार कार्यालय बस्दा धेरै राजस्व चुहावट...
-
उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस...
-
सभापति पक्राउ पर्ने सम्भावना बढेको भन्दै चीन गएको रास्वपाको टोली स्वदेश फर्कियो
काठमाडौं । पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली बिहिबार काठमाडौँ...
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते
काठमाडौं । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् । राप्तीसोनारी...
-
भरतपुर महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सुरु
काठमाडौं । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन...
-
लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाउने
काठमाडौं । लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा यही असोज...