ताजा समाचार

मकवानपुरमा खोलाले बगाउँदा दुईजनाको ज्यान गयो

हेटौंडा, २९ साउन । गएरातिदेखि अविरलरुपमा परिरहेको वर्षाले मकवानपुर जिल्लाको बकैया गाउँपालिका र वाग्मती गाउँपालिकामा खोलाले बगाएर दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । मृत्यु हुनेहरुमा वाग्मती गाउँपालिका वडा नं १, फापरबारी बस्ने ५० वर्षीय पञ्चकुमार कुमाल र बकैया गाउँपालिका वडा नं ६ बस्ने ६० वर्षीय वीरबहादुर घलान रहेको जिप्रका मकवानपुरले जनाएको छ ।

यसैगरी, शनिबारदेखि परेको अविरल वर्षाले त्रिभुवन राजपथको बागजोरा, हेटौँडा–नारायणघाट सडकखण्डको मनहरी, लोथर, स्थानीय थानभर्याङ र हेटौँडा–वीरगञ्ज सडकखण्डको रातमाटेमा आज बिहान पहिरो जाँदा हेटौंडा–वीरगञ्ज तथा हेटौंडा–नारायणघाटतर्फको यातायात सेवा अवरुद्ध रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दवाडीले जानकारी दिए ।

मौसममा सुधार भएमा आज दिउँसोसम्म सबैतिरको यातायात सेवा सञ्चालनमा ल्याउन डोजरसहित प्राविधिक खटाइसकिएको उनले बताए ।रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org