ताजा समाचार

दुबई रोजगारीका लागि भन्दै दिल्ली पुर्‍याइएकी नेपाली चेली ३० जनाबाट बलात्कृत

काठमाडौं, ३१ साउन । दुबईमा रोजगारीका लागि भन्दै दिल्ली पुर्‍याइएकी एक नेपाली महिला बलात्कारको सिकार भएकी छन् । भारतको राजधानी नयाँ दिल्ली पुर्‍याइएकी एक नेपाली चेली कम्तीमा ३० जनाबाट बलात्कृत भएकी हुन् ।

करिब पाँच महिना अघि दुबई लैजाने भन्दै दिल्लीमा लगिएकी उनलाई वेश्यालयमा बेचिएको हो । अंग्रेजी भाषाको भारतीय अखबार ‘हिन्दूस्तान टाइम्स’ का अनुसार ती महिलालाई दिल्ली प्रहरी, दिल्ली महिला आयोग र एक गैरसरकारी संस्थाको पहलमा उद्धार गरिएको छ ।

जीबी रोडस्थित एक वेश्यालयमा छापा मार्ने क्रममा ती महिला फेला परेको बताइएको छ । पीडित महिलाको पहिचान खुलाइएको छैन । ती महिलालाई उद्धृत गर्दै हिन्दूस्तान टाइम्सले जनाएअनुसार उनलाई दुबईमा रोजगारी दिलाइदिने आश्वासन दिएर नेपालबाट दिल्ली ल्याइएको हो ।

ती महिलाले भनिन्, ‘यसअघि पनि एक पटक प्रहरीले छापा मार्ने हल्ला चलेको थियो, मलाई आशा लागेको थियो कि अब म यहाँबाट निस्कन सक्छु, तर साहुनीले हामीलाई प्रहरीको नजरबाट जोगाउँदै अन्तै लगेर राख्न सफल भइन् ।’

दिल्ली महिला आयोगका मिडिया सल्लाहकार भूपिन्दर सिंहका अनुसार ती महिलालाई बेश्यालयमा राखिएको थियो । ‘उनलाई कयौं दिनसम्म भोकै राखिएको रहेछ,’ सिंहले भने, ‘अहिलेसम्म उनलाई ३० पुरुषसँग यौनसम्पर्कका लागि बाध्य पारिएको रहेछ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org