ताजा समाचार

भारतमा एउटा रेलमाथि अर्को रेल चढ्दा १० को मृत्यु, ५९ घाइते

नयाँदिल्ली, ३ भदौं । भारतको उत्तर प्रदेशको मुजफ्फरनगरको कलिंग–उत्कल एक्सप्रेसको रेल लिकबाट बाहिर उछिट्टिएर दुर्घटना भएको छ । मुजफ्फरनगरको खतौलीनजिकै सो रेल लिकबाट उछिट्टिएर पाँच वटा डिब्बा अर्को रेलमाथि चढ्दा भीषण दुर्घटना भएको हो । यो दुर्घटनामा परी मृत्यु भएका १० जनाको शव निकालिएको भएपनि अन्य कति जनाको मृत्यु भयो भन्ने बारेमा यकिन विवरण आइसकेको छैन । प्रशासनले समेत सो दुर्घटनामा परी मृत्यु हुनेको यकिन पुष्टि गरेको छैन । सो घटनामा ५९ घाइतेको उद्धार गरिएको छ ।

मुख्यमन्त्री योगी आदित्यनाथ यो घटनाबारे थप जानकारी लिन घटनास्थलमा नै गएका छन् । दिल्लीबाट एनडीआरएफको टोली र लखनउ, मेरठ र मुजफ्फरनगरबाट उद्दार टोली परिचालन गरिएको छ ।

शनिबार साँझ करिब ५ बजेर ५० मिनेटमा यो दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । रेलमन्त्री सुरेश प्रभुले दुर्घटनाबारे छानविन गर्न र दोषीमाथि कडा कारबाही गर्न आदेश दिएका छन् ।

यसैबीच रेलमन्त्री प्रभुले आफूले व्यक्तिगत रुपमा पनि दुर्घटनाको निगरानी गरिरहेको बताएका छन् । उनले रेलवेका वरिष्ठ अधिकारीलाई घटनास्थलमा तत्कालै गएर राहत तथा उद्दार कार्य सञ्चालन गर्न निर्देशन दिएका छन् ।

भारतीय रेलका प्रवक्ता अनिल सक्सेनाले दुर्घटनामा मृत्यु भएका व्यक्तिहरुको संख्याका बारेमा यो कुनै आधिकारिक जानकारी आइनसकेको जनाएका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले मुजफ्फरनगर दुर्घटना दुःखद भएको भन्दै घाइतेहरुको उचित उपचारको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org