ताजा समाचार

ठेकेदार नै मन्त्री बन्दा समेत बनेन स्वास्थ्यचौकी भवन, अझै कति वर्ष लाग्ला केही थाहा छैन्

प्यूठान, ११ भदौं । गाउँमै गुणस्तरीय स्वास्थ्यसेवा दिने उद्देश्यले ६ वर्षअघि स्वास्थ्यचौकी भवन निर्माण जिम्मा पाएका ठेकेदार रोल्पाका अमरसिंह पुन माओवादी केन्द्रका तर्फबाट ०७० सालमा समानुपातिक कोटाबाट सभासद् बने । तत्कालीन ठेकेदार उनी हालै सिँचाइ राज्यमन्त्री भएका छन् । तर, स्वास्थ्यचौकी भने अझै बन्न सकेको छैन । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रोल्पाका लेखा अधिकृत झगबहादुर दसौदीका अनुसार ठेकेदार पुनले डेढ वर्षभित्र भवन निर्माणको पूरै काम सम्पन्न गर्ने गरी भ्याटबाहेक ७७ लाख ८८ हजार ६ सय ९५ रुपैयाँमा जिम्मा लिएका थिए ।

२०६८ असारमा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रोल्पामार्फत ‘नेपाल प्रगति/राप्ती/उच्च हिमालय जेभी’ले भवन निर्माणको जिम्मा पाएको थियो । ठेकेदार सांसद बनेपछि भवन निर्माणले गति नलिएको स्थानीयको गुनासो छ ।

स्थानीय चिन्तित
वर्षौं बितिसक्दासमेत भवन निर्माणले पूर्णता नपाएपछि स्थानीय चिन्तित बनेका छन् । भवन निर्माणका लागि गाउँलेले सम्बन्धित निकायलाई पटक/पटक ताकेता गर्दासमेत सुनुवाइ नभएको स्थानीयले गुनासो गरे ।

गाउँ क्षतविक्षत
जिल्ला प्रशासन कार्यालय खलंगाबाट १४ कोष टाढाको दूरीमा दुर्गम गाउँ खवाङ अवस्थित छ । जिल्लाका नौ स्थानीय तहमध्ये अति दुर्गममा नौबहिनी गाउँपालिका पर्छ । गत वर्षको साउनमा आएको बाढीपहिरोले गाउँ क्षतविक्षत बनेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org