ताजा समाचार

मेलम्चीको पानी राजधानीबासीले यो दशैमा होईन्, अर्को दशैमा मात्र पाउने निश्चित, ठेक्का तोड्ने तयारी


काठमाडौं, १२ भदौ । के तपाईले दशैमा मेलम्चीको पानी प्रयोग गर्ने सोच्नुभएको छ ? यदि त्यसो हो भने तपाई केवल सपना मात्रै सोच्दै हुनुहुन्छ । मेलम्चीको पानी राजधानीबासीले अझै कहिले पाउने भन्ने अनिश्चित छ । सरकारले दशैसम्ममा पानी ल्याउने उद्घोष गरेको थियो । तर अवस्थामा हेर्दा अहिलेको दशैमा कता हो कता अर्को दशैमा पनि आउने छाँटकाट देखिदैन् । आयोजनाका अधिकारीहरुले कहिले सम्म पानी राजधानी पुर्‍याउन सकिन्छ भन्ने ठ्याक्कै जवाफ दिन सक्दैनन् ।

सरकारी अधिकारीहरु भने चाँडो भन्दा चाँडो काम सक्न निर्माण कम्पनीलाई पटक पटक निर्देशन तथा ताकेता गरिरहेका छन् । निर्माण कम्पनीले भने विभिन्न बाहना बनाएर आयोजनको काम लम्ब्याई रहेको छ । अहिले भने सरकारले मेलम्ची खानेपानीको मुख्य पाइपलाइन विस्तार गर्ने जिम्मा पाएको भारतीय कम्पनी जेआईटीएफसँगको ठेक्का रद्द गर्ने तयारी गरेको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जेआईटीएफसँगको ठेक्का रद्द गर्ने तयारी गरेको हो । ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएको भन्दै ठेक्का रद्द गर्ने तयारी थालिएको हो । जेआईटीएफले महांकाल–चुच्चेपाटी, चाबहिल–महाराजगञ्ज हुँदै बाँसबारीसम्म मुख्य पाइपलाइन र दुईवटा रिजभ्र्वायर ट्यांकी बनाउने ठेक्का पाएको थियो ।

विदेशी परामर्शदाता दोहा इन्जिनियरिङ कन्सल्ट्यान्टले जेआईटीएफको काम सन्तोषजनक नभएको भन्दै ठेक्का रद्द गर्न सिफारिस गरेको निर्देशनालयका एक अधिकारीले बताए । ‘ठेक्का अनुसार काम नभएको भन्दै कन्सल्ट्यान्टले सम्झौता रद्द गर्न सिफारिस गरेको छ,’ ती अधिकारीले भने, ‘निर्देशनालयले तत्कालै रद्द गर्छ कि गर्दैन त्यो अहिले नै भन्न सकिँदैन ।’ निर्धारित समयमा काम नगरेकाले ठेकेदार कम्पनीलाई चेतावनी दिइएको खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org