ताजा समाचार

१ सय ४ दिनदेखि जारी गोर्खाल्याण्ड आन्दोलन अन्ततः स्थगित, अब के हुन्छ ?

नयाँ दिल्ली, ११ असोज । विगत १ सय ४ दिन देखि चलिरहेको गोर्खाल्याण्ड आन्दोलन र दार्जिलिङ बन्दको कार्यक्रम फिर्ता भएको छ । भारतको केन्द्रिय सरकारका गृहमन्त्री राजनाथ सिंहको आग्रहमा उक्त आन्दोलन र बन्दको कार्यक्रम फिर्ता गरिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

दार्जिलिङ बन्द स्थगित भएपछि पहाडकी रानी नामबाट परिचित दार्जिलिङ र आसपासका सबै ठाउँका जनजीवन पहिलाजस्तै सामान्य र सुचारु भएको छ । पश्चिम बङ्गालबाट टुक्रिई दार्जिलिङ र आसपासका क्षेत्रलाई एक छुट्टै राज्य – गोर्खाल्याण्डको स्थापना हुनुपर्ने मुख्य माग राख्दै दार्जिलिङको गोर्खा जनमुक्ति मोर्चाको अगुवाईमा लगातार जनआन्दोलन चलिरहेको थियो ।

गोर्खा जनमुक्ति मोर्चाका प्रमुख नेता बिमल गुरुङले पार्टीका अन्य नेताहरुसँग सल्लाह गरी एक रेडियो वक्तव्यमार्फत् अनिश्चित कालसम्मका लागि आन्दोलन र बन्दको कार्यक्रम फिर्ताको घोषणा गरेका जनाइएको छ । दशैं तिहारजस्ता ठूला चाड, पर्वलाई ध्यानमा लिई सामाजिक शान्ति र सद्भाव कायम राख्न आन्दोलन स्थगित गरिएको जनाइएको छ ।

गत मङ्गलबार केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले आन्दोलनरत नेताहरुलाई प्रजातान्त्रिक राष्ट्रमा जस्तोसुकै गम्भीर राजनीतिक समस्या पनि वार्ताद्वारा समाधान निकाल्न सकिने भन्दै आन्दोलन र बन्दका कार्यक्रम फिर्ता लिन आह्वान गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org