ताजा समाचार

बाम गठबन्धन दुई तिहाइ तर्फ, अब काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले के गर्ला ?

 

काठमाडौं, २१ असोज । नेकपा एमाले नेतृत्वको बाम गठबनधनलाई दुई तिहाई बहुमत पुग्ने देखिएको छ । एमाले, माओवादी केन्द्र, नयाँ शक्ति लगायत दलहरु गठबन्धन बनाएर आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिएको बाम गठबन्धनलाई दुई तिहाई पुग्ने देखिएको हो । एमाले, माओवादी केन्द्र तथा नयाँ शक्ति सम्मिलित वाम गठबन्धनमा अन्य दल पनि थपिने क्रम जारी छ ।

बाम गठबन्धनमा अब चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा नेपाल, नेकपा माले र परिवार दल समेत सामेत हुने भएका छन् । काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले सहभागी हुन आव्हान गरेपनि यी दलहरुले बाम गठबन्धनमा नै आउने निर्णय गरेका हुन् । यसअघि राष्ट्रिय जनता पार्टी नेपालका नेता हृदयेश त्रिपाठीले आफ्नो समुहले एमालेको सुर्य चिन्हबाट आगामी चुनाव लड्ने निर्णय गरिसकेका छन् ।

राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले पार्टीले बाम गठबन्धनमा सहभागी हुने विषयमा पार्टीले छिट्टै निर्णय गर्ने तयारी गरेको जानकारी दिए । उनले भान्सा, पहिरन र व्यवहार मिल्नेसँग किन बेग्लै बस्ने भन्ने अवधारणाबाट आफूहरु अघि बढिरहेको बताए ।

शुक्रबारमात्र नेपाल परिवार दलले आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धनको चुनाव चिन्हमा निर्वाचन लड्ने निर्णय गरेको थियो । एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटमा भएको तीनबुँदे सहमतिअनुसार परिवार दलले आसन्न निर्वाचनमा सूर्य चिन्ह लिएर निर्वाचन लड्ने छ । यस्तै, निर्वाचनपछि बन्ने संसद्मा परिवार दलले एमालेको ह्वीप मान्ने सहमति पनि भएको छ ।

नेकपा मालेले पनि बाम गठबन्धनमा सहभागी हुने निर्णय गरेको छ । प्रगतिशिल बामपन्थी पार्टीहरु एक भएर चुनाव लड्ने योजना अनुसार बाम गठबन्धन बनेको र नेकपा माले पनि यसमा सहमत भएकाले गठबन्धनसँग तालमेल गरेर चुनाव लड्ने निर्णय गरेको माले महासचिव सिपी मैनालीले जानकारी दिए । बाम गठबन्धनमा कमल थापा नेतृत्वको राप्रपालाई समेत अटाउने प्रयासमा केपी ओली र प्रचण्ड लागेका छन् । उनीहरूले डा. प्रकाशचन्द्र लोहनीको राप्रपा राष्ट्रवादीलाई पनि तान्ने प्रयास थालेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org