ताजा समाचार

कास्कीका प्रहरी प्रमुखद्धारा प्रहरी हवल्दार र दुई जवानमाथि कुटपिट

कास्की, २४ असोज । कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले एक प्रहरी हवल्दार र दुई प्रहरी जवानमाथि कुटपिट गरेका छन् । एसपी सिंहले पोखराको लेकसाइडमा रहेको पामे प्रहरी चौकीमा खटिएका प्रहरी हवल्दार सुरेशराम महर तथा प्रहरी जवानद्वय अरविन्द तिवारी र लालबहादुर थापालाई गएको शनिबार कुटपिट गरेका हुन् । कुटपिटबाट तिवारीको दाहिने हातको बुढी औंलामा चोट लागेको छ ।

एक महिलाका कारण प्रहरी हवल्दार तथा जवानहरुले कुटाइ खाएको स्रोतले बताएको छ । घटनाको विवरण अनुसार चौकीका इञ्चार्ज असई जिलबहादुर भण्डारी आमा बिरामी भएर असोज २० गते शुक्रबार पर्वतमा रहेको घर गएका थिए । वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी निरीक्षक बसन्त शर्मासँग बिदा मागेर असई भण्डारी पर्वत गएपछि हवल्दार सुरेशराम महरलाई इञ्चार्जको जिम्मेवारी दिइएको थियो । त्यही दिन बेलुका विदेशीसँग विवाह गरेकी एक महिलाले रक्सी खाएर भाइको घरमा तोडफोड गरेकी थिइन् ।

घटनापछि दीपकले उनलाई डोरीले बाँधेर प्रहरीलाई खबर गरे । लगत्तै गएको प्रहरीको टोलीले बाँधेकी महिलालाई फुकाई दिनुका साथै अभद्र व्यवहार नगर्न भने । तर ती व्यक्तिले दिदीलाई एक–दुई झापड हानेर भएपनि सम्झाई दिन हवल्दार महरलाई आग्रह गरे । हवल्दार महरले महिलालाई कार्यालयमा ल्याएर एक–दुई झापड हाने ।

भोलिपल्ट आफूमाथि अभद्र व्यवहार भएको भन्दै महिलाले प्रहरीमा निवेदन दिइन् । लगतै एसपी सिंहले पामे प्रहरी चौकीमा कार्यरत सबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर कुटपिट गरेका हुन् । एसपी सिंहले चाहिँ काम गर्ने क्रममा गलत गरेकाले झिकाएको तर नकुटेको बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org